ट्राफिक प्रहरीद्वारा सहायताकक्ष सञ्चालन गरिने

  २०७६ असोज १० गते १४:३५     विकासन्युज

बाँके । महान् चाड बडादशैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार दशैँलाई लक्षित गरेर बाँकेका छ स्थानमा यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायी रूपमै यात्रु सहायता केन्द्र रहनेछन् ।

यस्तै, चप्परगौडी, पुष्पलालचोक र कोहलपुर चौराहामा अस्थायी यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । ट्राफिक प्रहरी, सामुदायिक तथा जनपद प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, उपभोक्ता समूहका प्रतिनिधि ट्राफिक भोलियन्टरका रूपमा नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रमा खटिने प्रहरी निरीक्षक बमले बताएका छन् ।

“चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि यात्रु सहायताकक्ष सञ्चालन गर्न लागिएको हो”, प्रहरी निरीक्षक बमले भने, “भीडभाड हुनेस्थल र टिकट काउन्टरमा हुनसक्ने ठगी नियन्त्रण गर्न सहायताकक्ष सञ्चालन गर्न लागेका हौँ ।”

जिल्लामा पूर्वपश्चिम महेन्द्र राजमार्ग र रत्न राजमार्गमा मापसे चेकिङमा कडाइ गरिने पनि उनले बताए । ट्राफिक सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्य रुपमा भए÷नभएको समेत जाँच गरिने प्रहरी निरीक्षक बमको भनाइ छ ।

“दुई चालक भए÷नभएको ट्राफिक प्रहरीको एप्सबाट हेरिनेछ”, उनले भने । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट अनिवार्य टाँस गर्न लगाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ओम पौडेलले बताएका छन् । उनका अनुसार विभिन्न नाका तथा बसपार्क क्षेत्रमा थप जनशक्ति परिचालन गरिनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.