नेपालमा बनेका वस्तु तथा सेवा प्रदर्शनी, बजार मूल्यमा ३० प्रतिशत छुट

  २०७६ असोज १० गते १३:३१     राजाराम न्यौपाने

काठमाडौँ । सानेपाको हेरिटेज गार्डेनमा ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ शुक्रबार शुरु भएको छ । नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठमा नेपालीहरुले धेरै बस्तु तथा सामाग्रीहरु उपभोग गर्छन्, यही कुरालाई मध्यनजर गर्दै नेपालमा बनेको वस्तु तथा सेवाको प्रदर्शनी गरिएको हो ।

उक्त प्रदर्शनमा राखिएका वस्तु र सेवाहरु बजार मूल्यभन्दा १० देखि ३० प्रतिशतसम्म छुट दिएमा बिक्री वितरण हुने आयोजक युवा उद्यमी मञ्चले जनाएको छ । ‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नाराका साथ स्वदेशमै उत्पादन भएको सम्पूर्ण सामाग्रीको सम्बद्र्धन, प्रवद्र्धनत र बजारीकरण गर्ने उद्देश्यले युवा उद्यमी मञ्चले उक्त मेलाको आयोजना गरेको हो ।

मेड इन नेपाल-वस्तु तथा सेवा प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका हुन् । यो प्रदर्शनी नेपालमा सियोसम्म बन्दैन भन्दै हिड्नेहरुलाई नेपाली उद्योग क्षेत्रमा सकारात्मक परिवर्तन हुँदै गएको गतिलो उदाहरण भएको मन्त्री यादवले बताए । उद्योगी व्यवसायीहरुसँग छलफल गरेर नेपालमा उत्पादन हुने बस्तुहरुको उत्पादन र उपभोक्ता बढाउन सरकारले सहयोग गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाए ।

उनले भने-‘सरकारले उद्योगीहरुलाई सहजिकरण, सहयोग र औद्योगिक वातावरण सिर्जना गर्ने हो । विश्वमा सामान्य व्यक्तिहरुले पनि अन्तर्राष्ट्रिय स्तरका उद्योगहरु सञ्चालन गरिरहेको छन्, नेपाल पनि त्यहि क्रममा विकास हुँदै गएको छ । ’

आयोजक युवा उद्यमी मञ्चका अध्यक्ष निकोलस पाण्डेले प्रदर्शनीमा स्वदेशमै उत्पादित गुणस्तरीय वस्तु तथा सामाग्रीहरु राखिएको बताए । उनने भने–‘नेपालमा उत्पादन भएका बस्तुहरु पनि उच्च गुणस्तरको छ भनेर बुझाउन आवश्यक छ ।’

प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा ७० वटाभन्दा धेरै स्टल रहेका छन् । ७५ ओटै जिल्लाका पहिचान बोकेका वस्तु तथा सेवाहरु प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा इट्टा, सिमेन्ट, कपडा, अचार, सिङ्गारका सामाग्री र  भाडाकुँडा लगायत नेपालमा उत्पादन हुने सम्पूर्ण सामाग्रीहरु राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.