दशैंका लागि नोट साट्ने सुविधा आजदेखि, एक व्यक्तिले साढे १८ हजार पाउने

  २०७६ असोज १० गते ७:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि दशैंका लागि सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिएको छ । बैंकले असोज १७ गतेसम्म प्रत्येक व्यक्तिलाई ५, १०, २०, ५० र १०० सय दरका एक-एक प्याकेट नोट उपलब्ध गराउने व्यवस्था मिलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

हरेक वर्षको दशैंमा जस्तै यस वर्षको दशैंमा पनि बैंकले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढी कार्यालयबाट सो सेवा उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकका यी कार्यालय सहित राष्ट्रिय वाणिज्य बैंकको १०, नेपाल बैंकको ७ र कृषि विकास बैंकको ६ शाखाबाट आमसर्वसाधारणले नयाँ नोट सटही गर्न पाउने छन् ।

सर्वसाधारणले राष्ट्रिय वाणिज्य बैंकको सिंहदरवारप्लाजा, सिंहदरवार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बाजालु, लुभु र टोखा शाखाबाट नयाँ नोट साट्न पाउने छन् ।

त्यस्तै नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सो सुविधा पाउने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ । कृषि विकास बैंकको गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ ।

यसका साथै बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई पनि यो सुविधा दिन सक्ने व्यवस्था मिलाएको निरौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.