दशैं नजिकिदै जाँदा दैनिक ३ अर्बका दरले निक्षेप संकलन, आधामात्रै कर्जा प्रवाह

  २०७६ असोज ९ गते १२:१८     विकासन्युज

काठमाडौं । दशैं नजिकिदै जाँदा २८ वटा वाणिज्य बैंकले भदौ २७ गतेदेखि असोज २ गतेसम्मको एक साताको अवधिमा २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । भदौ महिनामा निक्षेप संकलनको तुलनामा अत्याधिक कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले यो साता भने धेरै निक्षेप संकलन गरेर कम लगानी गरेको तथ्यांकले देखाएको छ । बैंकहरूले भदौ अन्तिम साताको त्यो अवधिदेखि असोज २ गतेसम्म २० अर्ब निक्षेप संकलन गरेर ११ अर्ब रुपैयाँमात्र कर्जा प्रवाह गरेका छन् ।

साउन महिनामा घटेको निक्षेप संकलन भदौ महिनामा ११ अर्बले बढेको छ । असार अन्तिमसम्ममा २८ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेका बैंकहरूको निक्षेप साउन अन्तिममा २३ अर्बले घटेको छ । साउनमा निक्षेप संकलननै हुन नसक्दा पनि साउनमा ९ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले भदौमा ४४ अर्ब कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो महिना कर्जा प्रवाहको तुलनामा भएको न्यून निक्षेप संकलनले बैंकर्सहरूले दशैं पछि नै कर्जा प्रवाह गर्न गाह्रो हुने अनुमान गरेका थिए । कर्जा माग अत्यधिक भएपनि असोज लागेपछि बढ्न थालेको निक्षेप संकलनले केही राहत हुने बैंकर्सहरूको महसुस रहेको छ । बैंकर्सहरूका अनुसार हुन त अहिले दैनिक अर्बभन्दा बढी कर्जाको माग छ, तर पनि सरकारी खर्च भए कर्जा प्रवाहमा त्यति असर नपर्ने अनुमान छ ।

अहिले दशैं लक्षित रेमिट्यान्स र खर्चले पनि बैंकमा निक्षेप बढाएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा ७५ अर्ब ४० करोड रेमिट्यान्स भित्रिएको छ । भदौ र असोजमा रेमिट्यान्स अझ बढी भित्रने गरेको छ । दशैंको लागि मात्रै करिब १५ देखि १८ अर्बसम्म रेमिट्यान्स भित्रने गर्छ ।

नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष तथा नेपाल बंगलादेशका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ढुंगानाले अहिले त्यति अप्ठ्यारो नपरेको बताए । ‘पछि हुने कुरा अहिले भन्न सकिदैन,’ उनले भने-‘हामी सहज अवस्थामा छौं, एक/दुई वटा बैंकमा अप्ठ्यारो पर्यो भन्दैमा असहज छ भन्न मिल्दैन । आर्थिक क्रियाकलाप बढ्न थालेपछि कर्जाको माग अझ बढ्न सक्छ । कर्जा मागको अनुपातमा निक्षेप बढेन भने त्यति बेला सोच्नु पर्ने हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.