कृषि विकास बैंकको रकम चोरी प्रकरणमा १२ जना पक्राउ, भारतमा बनेछ ५ अर्ब चोर्ने योजना

  २०७६ असोज ८ गते १४:३०     विकासन्युज


काठमाडौँ । कृषि विकास बैंकको खातामा रहेको रकम आफ्नो खातामा ट्रान्सफर गरी ह्याकर समूहले चोरी गरेको घटनाबारे महानगरीय प्रहरी अपराध महाशाखाले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

महाशाखा प्रमुख सहकुल थापाका अनुसार कृषि विकास बैंकको सिराहा जिल्लाको लहानमा रहेको शाखाबाट विभिन्न व्यक्तिको नाममा ४ करोड ७३ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ ।

रकम चोर्दै गरेको अवस्थामा मंगलबार पक्राउ परेका १२ जनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ गरेकाहरुमा नुवाकोटका लवाङ तामाङ, रसुवाका लक्ष्मी लामा तामाङ, काभ्रेस्थली काठमाडौका सञ्जय घले, रसुवाका निर्मला तामाङ, निमा तामाङ, सर्लाही हरिवनका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुर ठिमीका सुनिता श्रेष्ठ, भारत कलकत्ताका शुबन्कर पञ्जा, कैलाली भजनीका विजय साह र चन्द्रबहादुर बुढा रहेका छन् ।

बैंकको लहान शाखामै कार्यरत कर्मचारीहरुको ३ वटा यूजर आइडी प्रयोग गरी रकम चोरी भएको पाइएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख थापाले बताए ।

घटनामा बैंकका कर्मचारीको संलग्नताबारे अनुसन्धान जारी रहेको महाशाखा प्रमुख थापाले बताए । पक्राउ परेका १२ जनामध्ये बैंकको लहान शाखाबाट १५ देखि २५ लाख रुपैयाँसम्म ऋण लिएकाहरु समेत रहेका छन् । बैंकको लहान शाखाबाट कैलास विकास बैंकमा समेत रकम ट्रान्सफर भएको पाइएको प्रहरीले बताएको छ ।

ह्याकर समूहले असोज ५ गते भारतमा बैठक गरेर विभिन्न बैंकबाट रकम चोरी गर्ने योजना बनाएको र ह्याकर समूह ठूलो संख्यामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखा प्रमुख थापाले बताए ।

नबिल बैंक लगायतका अन्य बैंकबाट पनि रकम ट्रान्सफर गरी ५ अर्ब रकम चोरी गर्ने योजना बनेको पक्राउ परेका ह्याकरहरुले प्रहरीसँगको बयानमा बताएका छन् । सिस्टक ह्याक गरी बैंकको पैसा चोर्ने योजनाका नाइकेले ह्याकरहरुलाई १० देखि ३५ प्रतिशत कमिशन दिने आश्वासन पक्राउ परेका ह्याकर समूहका सदस्यले बताए ।

पत्रकार सम्मेलनमा कृषि विकास बैंकका सहायक महाप्रबन्धक दीर्घ अर्यालले घटनामा सिराहाको लाहान शाखामा कार्यरत तीन जना कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग गरी रकम चोरी भएको बताए । लहान शाखाबाट रकम ट्रान्सफर गरी चोरी भएपनि बाँकी २६७ शाखा भने सुरक्षित रहेको बताए । अनलाइन सिस्टममार्फत् भुक्तानीको अर्डर दिई विभिन्न स्थानबाट रकम निकालिएको हो । कृषि विकास बैंकबाट निकालिएको पैसा सर्वसाधारण नभई बैंकको भएको प्रवक्ता सहायक महाप्रबन्धक अर्यालले बताए ।

यसअघि पनि भदौ १५ गतेमा प्रहरीले एटिएम ह्याक गरी रकम झिक्ने ५ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.