नेत्रज्योति सङ्घद्वारा दुई सय विद्यार्थीलाई निःशुल्क चश्मा

  २०७६ असोज ७ गते ११:३०     विकासन्युज

गलकोट । नेत्रज्योति सङ्घ बागलुङले यस वर्ष २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको छ । चालीसौँ राष्ट्रिय सामाजिक सेवा दिवसका अवसरमा सोमबार सङ्घले जिल्लाका २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको जानकारी दिएको हो ।

सङ्घले वार्षिक रूपमा गर्दै आएको निःशुल्क आँखा शिविरका क्रममा आँखाको दृष्टि कमजोर भई चश्मा लगाउनुपर्ने विद्यार्थीलाई एकमुष्टरूपमा चश्मा वितरण गरेको हो । नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय कार्यालयको सहयोगमा वार्षिक रुपमा विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

यसरी, एक वर्षमा जिल्लाका ३५ निजी तथा सामुदायिक विद्यालयका झण्डै १५ हजार विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको नेत्रज्योति सङ्घका जिल्ला सभापति भरत पुरीले बताएका छन् ।

उनका अनुसार १०० विद्यार्थीको आँखा परीक्षण गर्दा औषत रूपमा तीन विद्यार्थीलाई दृष्टिमा समस्या हुने गरेको पाइएको छ । सङ्घले प्राविधिक रुपमा शिविरमै चश्मा उपलब्ध गराउन समस्या हुने भएकाले एकमुष्ट चश्मा वितरण गर्दै आएको छ । सङ्घले ५० वर्ष नाघेका वृद्धवृद्धालाई समेत आँखा शिविरमार्फत निःशुल्क चश्मा वितरण गर्दै आएको छ ।

यो वर्षमात्रै २०० वृद्धवृद्धालाई निःशुल्क चश्मा वितरण गरिएको छ । वृद्धवृद्धालाई वितरण गरिने चश्मा पहिल्यै निर्माण गरिने भएका कारण आँखा शिविरमै हस्तान्तरण गर्दै आइएको सङ्घका सचिव बालकृष्ण शर्माले बताए ।

गत वर्ष १५० विद्यार्थीलाई चश्मा वितरण गरिएको थियो भने यस वर्ष विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर २०० पुगेको छ । आँखाको नियमित परीक्षण अभावमा धेरै विद्यार्थीको दृष्टि कमजोर हुँदै गइरहेको भन्दै नेत्रज्योति सङ्घले विद्यालयमै पुगेर आँखा शिविर सञ्चालन गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.