कर्णाली प्रदेश सरकार र राष्ट्रिय बीमा कम्पनीको सहकार्य, १७ लाखको सामुहिक बीमा

  २०७६ असोज ६ गते १३:०७     नबिन पोखरेल


काठमाडौ । राष्ट्रिय बीमा कम्पनीले कर्णाली प्रदेश सरकारको सहकार्यमा १७ लाख कर्णालीबासीको जोखिम बहन गर्न घर तथा दुर्घटना बीमा कार्यक्रम अघि सारेको छ । सरकारी कम्पनीले नागरिक प्रतिको दायित्व पूरा गर्न सो योजना अघि सारेको हो ।

सबै प्रदेशमा बीमाको चेतना र पहुँच पुर्याउन अहिले बीमा कम्पनीहरु लागि परेका छन् । सोही क्रममा राष्ट्रिय बीमा कम्पनीले कर्णालीमा रहेको जोखिम र त्यहाँका जनतालाई बीमाबारे सचेत गराउन अग्रसर रहेको बताएको छ ।
हालसम्म राष्ट्रिय बीमा कम्पनीले ५ वटा प्रदेशमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै, आगामी दिनमा प्रदेश नम्बर २ र ६ मा समेत कार्यक्रम गर्ने तयारी गरेको छ ।

कर्णाली प्रदेश सरकारले करीब १७ लाख ७० हजार नागरिकहरुको सामूहिक दुर्घटना बीमा गराएको छ । सामूहिक दुर्घटना बीमाबाट प्राकृतिक विपतको कारणले मृत्यु हुँदा प्रतिनागरिक १ लाख रुपैयाँ प्रदान गरिन्छ । १७ लाख ७० हजार नागरिकको प्रतिनागरिक १ लाख पाउने गरी सो सामुहिक बीमा कार्यक्रम अघि सारिएको हो । भूकम्प, बाढी, आगजनी, हावाहुरीको कारणले मृत्यु भएमा सो लाभ पाइनेछ ।

कर्णाली प्रदेशको १० जिल्लामा प्रति जिल्ला १ हजार घरको बीमा कार्यक्रम समेत सञ्चालन गरिएको छ । प्रत्येक घरको बीमा ५ लाख रुपैयाँको दरले बीमा गरिएको हो । भूकम्प, बाढी पहिरोको कारणले क्षती हुँदा बढीमा ५ लाख रुपैयाँसम्म प्रदान गरिन्छ ।

आर्थिक अवस्था कमजोर भएका जनताहरुलाई सहज होस् भन्ने उद्देश्यले उक्त बीमा कार्यक्रम ल्याईएको राष्ट्रिय बीमा कम्पनीले जानकारी दिएको छ ।

कृषि बीमामा कर्णाली प्रदेशको शत प्रतिशत अनुदान
नेपाल सरकारले कृषि बीमामा अनुदान लागि ७५ प्रतिशत हिस्सा व्यहोर्ने भएपनि कर्णाली प्रदेश सरकारले त्यसलाई हेरफेर गर्न आवश्यक मानेको छ । अन्य प्रदेशका लागि सो अनुदानले काम गरेपनि कर्णाली प्रदेशका लागि भने सत प्रतिशत सहुलियत दिन आवश्यक रहेको प्रदेश सरकारको बुझाई छ ।

राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुवास कोइरालाले भने-‘जोखिम रहेको ठाउँमा बीमा गर्नु आवश्यक हुन्छ, अहिले कर्णालीमा बीमाको आवश्यकता निकै भएकाले हामीले त्यस ठाउँमा पुगेका हौँ ।’ उनले भने-‘आगामी दिनमा बीमा बजार बिस्तार गर्दै अन्य स्थानमा समेत पुग्नेछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.