चाडबाड लक्षित सुपथ पसलले उपभोक्तालाई राहत

  २०७६ असोज ६ गते १२:२५     विकासन्युज

बागलुङ । चाडबाडलाई लक्षित गरी खुलेको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ । बजार भाउभन्दा सस्तोमा चिनी, नून किन्न पाउँदा उपभोक्ता खुशी छन् । ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङद्वारा सञ्चालित पसलमा दैनिक सयौँको लाम देखिन्छ ।

पसल शुरु भएको छ दिनमै तीन हजार ९४९ जना उपभोक्ताले सेवा लिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ कार्यालयले जनाएको छ । हालसम्म २३ हजार ३९४ किलो चिनी र ११ हजार ५१३ किलो नून बिक्री भएको छ ।

चिनी र नून बिक्रीबाट रु १८ लाख ९१ हजार ६०० को कोरावार भएको कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले बताएका छन् । बजारको तुलनामा प्रतिकिलो चिनी आठ र नून चार रुपैयाँ सस्तोमा बिक्री भइरहेको उनको भनाइ छ । अहिले चिनीको बजार मूल्य रु ८० र नूनको रु २२ छ ।

सुपथ मूल्य पसलले भने चिनी प्रतिकिलो रु ७२ र नून रु १८ मा उपलब्ध गराएको छ । एक जनाले चिनी छ किलो र नून तीन किलोसम्म किन्न पाउने व्यवस्था छ । दोहोरिएर आउने उपभोक्ताले भने खरिद गर्न पाउँदैनन् ।

“उपभोक्ताको भीड छ, सहज सेवाका लागि खटिएका छौँ”, कार्यालय प्रमुख श्रेष्ठले भने । कार्यालयले कर्मचारीबाहेक थप चार जना कामदार ज्यालादारीमा राखेको छ । उपभोक्ताको लाम व्यवस्थापनका लागि प्रहरी खटिएका छन् ।

अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलालाई लाममा नबसी खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ । दुरुपयोग हुने डरले १४ वर्षमुनिका बालबालिकालाई चिनी, नून बेच्ने गरिएको छैन । “चाडबाडको बेला उपभोक्तालाई राहत मिलोस् भनेर सस्तो मूल्यको पसल राखेका हौँ”, कार्यालय प्रमुख श्रेष्ठले भने ।

उपभोक्ताले भने चाडबाडबाहेकको समयमा पनि सहुुलियत मूल्यको पसल सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् । चिनी र नून मात्रै नभएर अन्य उपभोग्य सामान पनि सुपथ पसलमा राख्नुपर्ने आवाज उठेको छ ।

बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित कार्यालय परिसरमै सञ्चालित पसल आउँदो कात्तिक १८ गतेसम्म सञ्चालन हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने पसल सार्वजनिक बिदाका दिनमा भने बन्द हुने गरेको छ । ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ले वर्षेनी चाडबाडको मुखमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.