हुलाकी राजमार्ग निर्माण शुरु, अनुमानित लागत ६९ करोड

२०७६ असोज ६ गते १२:१० विकासन्युज

तुलसीपुर । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडक निर्माणको बाँकी काम शुरु भएको छ । बजार क्षेत्रमा निर्माण भएका संरचनाले गर्दा रोकिएको थियो । अहिले गढवा बजारको मुुख्य चौराहामा साविक गढवा गाविसले तयार गरेका व्यापारिक संरचना हटाउन शुरु गरिएको छ ।

लमही–कोइलावास सडक कालोपत्रे गर्ने कार्यलाई सहज बनाउन गाउँपालिकाका ११ वटा संरचना हटाइएको गढवा गाउँपालिका–६ का अध्यक्ष बालचन्द्र ठकुरी हमालले बताएका छन् । “यसअघि ती संरचनाले गर्दा सडक निर्माणको कार्य अघि बढ्न सकेको थिएन”, उनले भन, “तर अहिले यी संरचना हटाउन थालिएको छ ।”

योसँगै लमही–कोइलावास सडकखण्डमा मुुआब्जा बुुझेर पनि संरचना भत्काउन आनाकानी गरेकाको संरचना भत्काइने भएको छ । निर्धारित समयसम्म अटेरी गरी संरचना नहटाएमा गाउँपालिकाले डोजर लगाएरै भए पनि हटाउने उनको भनाइ छ ।

यसअघि गाउँपालिकाको आह्वानमा भएको सर्वपक्षीय सर्वदलीय बैठकको सुुझावबमोजिम संरचना हटाउने निर्णय भएको उनको भनाइ छ । पुुराना व्यवसायीलाई तत्काल सडक निर्माण कार्यलाई सहज बनाउन आह्वान गरी नयाँ निर्माण गरिएका ११ वटा सटरमा आउँदो असार मसान्तसम्मका लागि स्थानान्तरण गरी गाउँपालिकाका संरचना भत्काइएको वडाध्यक्ष हमालले जानकारी दिएका छन् ।

साढे दुई महिनामा कालोपत्रेको काम सक्नुपर्ने भए पनि २६ महिनासम्ममा आधा काम पनि हुन सकेको छैन । इञ्जिनीयर मुकेशकुमार शाहका अनुसार ३३ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने छ । मुआब्जा वितरणमा ढिलाइ हुनु, विद्युत्, टेलिकमका पोल नहटाउनुजस्ता कारणले कामले गति लिन नसकेको उनको भनाइ छ ।

हुलाकी राजमार्गअन्तर्गत दाङ खण्डको ३३ किलोमिटर सडक कालोपत्रे गर्न करिब रु ६९ करोड बजेट लाग्ने अनुमान गरिएको छ । कालीका कुमार जेभीले निर्माणको जिम्मा लिएको छ । हुलाकी सडकको चौडाइ सात मिटर हुने छ । रासस