मोदीखोला जलविद्युत आयोजनाको असर, स्थानीयमा कान नसुन्ने समस्या

  २०७६ असोज ५ गते १८:४०     विकासन्युज

काठमाडाैं । पर्वतको मोदी खोलामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरु वातावरणमैत्री नबन्दा स्थानियलाई समस्या भएको छ । आयोजनाको बारेमा नेपाल वातावरण पत्रकार समूहले गरेको एक अध्ययनका अनुसार त्यहाँका स्थानीयहरुमा कान नसुन्ने र माछा व्यवसाय नै विस्थापन हुने लगायतका समस्याहरु देखा परेको जनाइएको हाे ।

आइतबार वातावरण पत्रकार समूहले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै मोदी खोलामा निर्माण भइरहेका जलविद्युत आयोजनाहरुले विकास सँगै विनास निम्त्याएको बताएका हुन् । वर्षौंदेखि माछा व्यवसाय गर्दै आएका त्यहाँका स्थानियको व्यवसाय नै धरापमा पारेको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

आयोजनाहरुका लागि निर्माण गरिएका टवाईनको आवाजले कर्मचारीहरुको श्रवण शक्ति पनि गुम्दै गएको वातावरणीय अध्ययन प्रतिवेदनमा छ । मोदी खोलामा निर्माणाधीन आयोजनाहरुले प्रतिकुल वातावरणीय प्रभाव न्युन गर्न कुनै पनि उपायहरू कार्यान्वयन नगरेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको बिरेठाँटीदेखि चुवासम्म निर्माणाधिन र सञ्चालित ४ जलविद्युत आयोजनाको आधारमा यस प्रकारको “क्यासकेड” आयोजना सञ्चालन हुने खोला नदीमा पानी छोडेर जलीय जीव विविधता र तिनको उत्पादन कायम गर्न सकिने नदेखिएकोले विद्यमान नीतिको पुनरावलोकन गर्नु पर्ने अध्ययनमा देखाइएको छ ।

माछाका लागि भर्याङ

मोदी खोला जलविद्युत आयोजनाले माछाको लागि भर्याङ बनाएको छ । सुक्खा समयमा खोला सुक्ने हुँदा माछा लगायत अन्य जलिय जीव र तिनको वासस्थानमा प्रतिकुल प्रभाव पर्ने कारणले  त्यसको समाधानका लागि फिस ल्याडर तथा ह्याचरीको निर्माण गरिएको हो । वातावरणीय परीक्षण (अडिटिङ्ग) प्रतिवेदनमा उल्लेख भए अनुसार ह्याचरीको स्थान र डिजाइन अनुपयुक्त रहेको छ ।

प्रतिवेदनका अनुसार आयोजनाका कारण खोलामा पानीको मात्रा घटेकोले माछा व्यवसायीहरुको व्यवसाय नै धरापमा परेको जनाइएको छ । जलविद्युत विकास नीति(२०८५) का अनुसार न्युनतम १० प्रतिशत पानी छाडी जलिय जीव र तिनको वासस्थान कायम गर्नु पर्ने प्रावधान छ । उक्त प्रावधान सुक्खायाममा पालना नभएको जनाइएको छ ।

प्रतिवदेनका अनुसार वातावरणीय क्षति न्यून गर्ने उपायहरूको बारेमा ठेकदार र परामर्शदाता समेत अनभिज्ञ देखिएको छ । अध्ययन टोलीले आयोजनाहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन नै आयोजना स्थलमा नभेटिएको बताए । तर तल्लो मोदीखोला जलविद्युत आयोजनाका म्यानेजर प्रदिप कुमार दासले कुनै पनि समुह आफ्नो कार्यालयमा प्रतिवेदन सम्वन्धि बुझ्न नआएको बताए ।

कार्यक्रममा उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पुनले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवदेन तयार पार्दा आर्थिक, साँस्कृतिक र सामाजिक पक्षमा केके प्रभाव पार्छ भन्ने कुराहरु बुझेर तयार पार्नु पर्ने बताए । उनले पछिल्लो समय आयोजनाहरुका वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवदेन कपि पेष्ट तरिकाले हुने गरेका उदाहरणहरु सुनाउँदै विकास र वातावरणलाई सन्तुलन हुने गरी तयार पार्न आग्रह गरे ।

उनले स्थानीयहरुले पनि विकासप्रेमी बन्नु पर्ने बताउँदै लगानीकर्ताहरु लाई विभिन्न टर्चर दिएर दु:ख नदिन आग्रह गरे । वन मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुङ्गेलले मन्त्रालयबाट ३ सय भन्दा बढि इआइएहरु स्वीकृत भईसकेको बताउँदै जनशक्तिको अभावले इआइए अनुगमनमा समस्या हुने गरेको बताए ।

मोदी खोलामा दुईटा आयोजना सञ्चालनमा छन् भने दुईटा जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा छन् । मोदीखोला जलविद्युत आयोजना (१४.८ मे.वा), तल्लो मोदी (१०. मे.वा), तल्लो मोदी खोला ( २० मे.वा) र तल्लो मोदी खोला २ जलविद्युत आयोजना (१०.५ मे.वा) जलविद्युत आयोजनाहरु रहेका छन् । नेपाल सरकारले वि.स २०८२ सम्म १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.