स्वदेशी उद्योगका लागि भारतले घटायो संस्थागत आयकरको दर, शेयरकाे पुँजीगत लाभकर पनि छुट

  २०७६ असोज ३ गते १६:४१     विकासन्युज

काठमाडौं । स्वदेशी उद्योगलाई संरक्षण गर्न संस्थागत आयकरमै छुट दिनेगरी भारत सरकारले ऐतिहासिक घोषणा गरेको छ । संघीय आयकर ऐनमा हाल रहेको ३० प्रतिशत संस्थागत आयकरको दरलाई केन्द्र सरकारले २२ प्रतिशतमा झारेको छ । विभिन्न उपकर र अतिरिक्त शुल्कहरु समेत गर्दा यो कर २५.१७ प्रतिशत कायम हुन्छ । त्यस्तो उद्योगको लागि न्यूनतम वैकल्पिक करसमेत तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै भारतमा नयाँ उत्पादनमूलक उद्योग स्थापना गर्ने कम्पनीलाई हाल रहेको २५ प्रतिशत संस्थागत आयकरलाई १५ प्रतिशतमा झारिएको छ । यसमा न्यूनतम वैकल्पिक करलाई १८.५ प्रतिशतको सीमाबाट १५ प्रतिशतमा झारिएको छ । यही वर्षको अक्टोबरसम्म स्थापना भएका त्यस्ता कम्पनीहरुलाई २०२३ मार्चसम्म १५ प्रतिशतमात्रै आयकर तिरे पुग्नेगरी आयकर ऐनमा संशोधन गर्न लागिएको हो ।

तर, सुरुमै अनुदान वा छुटहरु लिएर स्थापना गरिएका कम्पनीहरुको हकमा भने छुटसम्बन्धी कुनै व्यवस्था गरिएको छैन । गोवामा शुक्रबार आयोजित सम्मेलनमा भारतीय वित्तमन्त्री निर्माला सीतारकणले आयकर ऐन १९६१ र वित्त ऐन २०१९ लाई संशोधन गर्दै त्यस्तो व्यवस्था गर्ने घोषणा गरेकी हुन् । यो व्यवस्था आगामी आर्थिक वर्षदेखि लागु हुनेछ ।

त्यस्तै, शेयर बजारमा लाग्ने पुँजीगत लाभकरलाई सरकारले खारेज गरिदिएको छ । पुँजी बजारमा कोषको प्रवाहलाई गतिशील बनाउन यस्तो व्यवस्था गर्न लागिएको वित्तमन्त्री सीतारमणले बताइन् । सरकारले संस्थागत सामाजिक उत्तरदायित्वमा गर्नैपर्ने खर्चको क्षेत्रलाई विस्तार गरी विश्वविद्यालय, प्रयोगशाला लगायतका क्षेत्रमा खर्च गर्न पाउने व्यवस्था समेत गरेको छ । त्यस्तो रकम कुल नाफाको २ प्रतिशत रहेकोमा त्यसलाई यथावत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.