भारत सरकारको आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष, एलआइसीलाई ५७ करोड नोक्सान

  २०७६ असोज ३ गते १५:३७     विकासन्युज


नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित सम्बोधन गर्न भारतको केन्द्र सरकारले पर्यात नीतिगत सुधार गर्न नसकेको भन्दै मोदी सरकारको आलोचना गरेकी छिन् ।

भारतीय जीवन बीमा निगम (एलआइसी)लाई अढाई महिनाको अवधिमा ५७ हजार करोड भारतीय रुपैयाँ नोक्सान भएको समाचार प्रकाशन भएलगत्तै नेत्री गान्धीले ट्वीट गर्दै उक्त संस्थामा आममानिसको विश्वास रहेको र दुःख गरेर कमाएको पैसा लगानी गरेको कम्पनी नै सङ्कटमा पर्ने अवस्था आउनु दुःखद भएको बताइन् ।

उनले ट्वीटमा भनेकी छिन्, “भविष्यको सुरक्षाका लागि आममानिसले दुःख गरेर कमाएको पैसा एलआइसीमा लगानी गरेका छन्, तर वर्तमान भाजपा सरकारले एलआइसीको पैसा घाटामा चलेका अरु संस्थामा लगानी गर्न छुट दिएको छ । यो कस्तो किसिमको नीति हो ?”

आइडीबीआई बैंकको सञ्चालक समितिले बिहीबार भारत सरकार र भारतीय जीवन बीमा निगम (एलआइसी)का लागि क्रमशः ४ हजार ५५७ करोड र ४ हजार ७४३ करोड (भारतीय रुपैयाँं)को शेयर जारी गर्ने निर्णय गरेको थियो । यो शेयर सर्वसाधारण र अग्राधिकार शेयरका रुपमा बिक्री नगरी सरकार र एलआइसीले मात्र खरिद गर्न सक्नेछन् ।

यो निर्णयका बारेमा भारत सरकारकै इशारामा चलेको नियामक निकायबाट स्वीकृत हुन बाँकी छ । गत सेप्टेम्बर ३ मा भारत सरकारले आइडीबीआई बैंकको लगानीयोग्य रकम वृद्धि गर्ने भन्दै ९ हजार ३०० करोड भारतीय रुपैयाँको प्रस्तावलाई स्वीकृत गरेको थियो ।

आइडीबीआई बैंकको अवस्थामा सुधार ल्याउन भारत सरकारले पूँजी लगानी बढाउन मन्जुरी दिएको हो । यस बैंकको जुन २०१८ मा खराब कर्जाको अनुपात १८.८ प्रतिशतसम्म पुगेको थियो । तर लामो समयदेखिको खराब कर्जा खारेज गरेपछि यसैवर्षको जुन महिनासम्ममा यो अनुपात ८ प्रतिशतमा झरेको छ ।

लामो समयदेखि खराब कर्जाको मारमा परेका भारतीय सार्वजनिक बैंकहरुको वासलात ठीक पार्ने भन्दै सरकारले करिब ७० हजार करोड भारतीय रुपैयाँ पूँजी लगानी गर्ने घोषणा गरेको छ । रासस/एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.