जलविद्युत् विकासका अभियानकर्मी पूर्वसांसद दाहालको निधन

  २०७६ असोज ३ गते १३:०७     विकासन्युज

काठमाडौं । पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी)को प्रतिनिधित्व गर्दै उनी सांसद निर्वाचित भएका थिए ।

राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा स्थापित दाहाल ‘कोल्ड स्ट्रोल’ रोगबाट पीडित भएका पारिवारिक सदस्य योगेन्द्रविजय दाहालले जानकारी दिएका छन् । पूर्वसांसद दाहालको उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो ।

विसं २०१४ कात्तिक २८ गते मादी गाउँपालिका–५ सङ्खुवासभामा माता फाल्गुकुमारी र पिता यज्ञरत्न दाहालको कोखबाट उनको जन्म भएको थियो । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

दाहालको पार्थिव शरीरलाई अहिले धुम्बाराहीस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । पार्टी महासचिव विष्णु पौडेलले पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेका छन् । दिउँसो १ः०० बजेपछि पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.