४० करोडको लागतमा मौलिक संस्कृति झल्किने गरी बन्दै प्रधानमन्त्री निवास

  २०७६ असोज २ गते १७:०१     विकासन्युज

काठमाडौँ । मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास मौलिक संस्कृति र परम्परा झल्कने गरी निर्माण हुने भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा केही भवन भत्काएर आधुनिक प्रविधिसहित वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने र मौलक परम्परा झल्किने गरी भवन बन्न लागेको हो ।

निजी आवासका लागि र सार्वजनिक प्रयोजनका लागि दुई छुट्टाछुट्टैरुपमा बन्ने भवनको कन्टेक प्रालि नक्सालले निर्माणको जिम्मा लिएको छ । भवन दुई वर्षमा सक्ने योजना छ । दुई रोपनी क्षेत्रफलमा बन्ने पहिलो भवन नौ महिनामा र दोस्रो भवन १५ महिनामा सक्ने लक्ष्य रहेको र यसका लागि झण्डै रु ४० करोड लागत लाग्ने विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

“मौलिक परम्परा झल्कने गरी काठमा बुट्टा कुँदेर झ्याल, ढोका बनाइनेछ, काठको बाल्कुनेसमेत आकर्षक हुन्छ, इँटाको प्रयोग सोहीअनुसार हुनेछ, समग्रमा हाम्रो परम्परा र संस्कृति झल्कने गरी भवन निर्माण हुन्छ”, गेलालले भने ।

आधुनिक प्रविधियुक्त बनाइने र आकस्मिक मन्त्रिपरिषद्समेत बस्न सक्ने गरी भवन निर्माण हुनेछ । प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न सक्ने अडियो भिडियोसहितको स्टुडियो पनि बनाइने विभागले जनाएको छ ।

प्रधानमन्त्री निवास यसअघि पटकपटक गरेर बनाइएको थियो । पहिलो चरणमा उत्तरखण्ड र दोस्रो चरणमा दक्षिणखण्डको भवन बनेको थियो । निरङ्कुश राजतन्त्रको बेलामा भवन बनाइएको थियो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यासका क्रममा निरङ्कुश राजतन्त्रको बेलामा विगतमा जनताद्वारा निर्वाचित जनप्रतिनिधि कमजोर र अव्यवस्थित क्षेत्रमा बस्नुपर्छ भनेर नेपालमा धेरै दरबार बनिसकेपछि प्रधानमन्त्रीका लागि सामान्य घर बनाइएको बताए ।

जसमा प्रधानमन्त्रीका लागि आवश्यक कुनै पनि पुर्वाधार थिएन । “भुइँतलामा तीन कोठा र माथि तीन कोठा मात्रै थिए, अतिथि सत्कार र बैठक कक्ष कुनै थिएन, त्यो विस्तार गर्दा पनि उपयुक्त ढङ्गको थिएन”, प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

यसपाली काठको बुट्टा कुँदेर आकर्षक झ्याल बनाइनेछ । इँट्टा पनि मौलिक संस्कृतिसँग मिल्ने गरी प्रयोग गरिने र बाल्कुने बनाएर नेपाली पन झल्कने गरी डिजाइन गरिएको विभागले जनाएको छ ।

एउटा भवन प्रधानमन्त्रीको नितान्त निजी प्रयोजनका लागि र अर्को भवन सार्वजनिक प्रयोजनका लागि हुनेछ । सार्वजनिक भवन राजनीतिक, कूटनीतिक संवाद तथा सर्वसाधारणसँगको भेटघाटका लागि प्रयोग हुनेछ ।

सार्वजनिक भवनको भुइँतलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषद्को आकस्मिक बैठक कक्ष, चालिस जनासम्मले खान मिल्ने डाइनिङ हल, किचेन, कम्युनिकेशन सेन्टर, सुरक्षाकर्मीको नियन्त्रण कक्ष, एडिसी कक्ष, गोप्य कोठा, प्रतीक्षा कक्ष हुनेछ । पहिलो तलामा सर्वसाधारण भेटघाट कक्ष, भोजन गर्न मिल्ने बैंक्वेट, दुई प्रतिक्षा कक्ष, होल्डिङ कक्ष, पिए बस्ने र प्रधानमन्त्रीको ग्यालरी कक्ष, शैलुन, डाक्टर कक्ष र डेन्टलसहितको नौ युनिट रहनेछ ।

दोस्रो तलामा प्रधानमन्त्रीको कार्यकक्ष, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न मिल्ने अडियो भिडियोसहितको स्टुडियो, बगैँचासहितको लवी गरी १२ युनिट रहनेछ । सार्वजनक भवनको भुइँ तलामा १४ कार्यकक्ष रहेछ । भुइँतला अति विशिष्ट व्यक्तिसँगको भेटघाटका लागि छुट्याइनेछ ।

निजी निवास पूर्णतया व्यक्तिगत प्रयोजनका लागि हुनेछ । भुइँ तलामा गेष्ट रुमसहित १० युनिट, पहिलो तला पारिवारिक आवासका लागि बाल्कुनेसहितको १५ युनिट रहनेछ । दोस्रो तला अति विशिष्ट पाहुनालगायतका लागि गरी ११ युनिटको हुने विभागले जनाएको छ ।

अहिलेको सरकारी निवास समयानुुकूल आवश्यकता परिपूर्ति गर्ने खालको नभएको र सुरक्षाका हिसाबलेसमेत उपयुक्त नभएकाले आधुनिक भवन निर्माण गर्न लागेको शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए ।

सरकराले हिजो मात्रै संसद् भवनको शिलान्यास गरेको थियो । अहिले धेरै भवनको शिलान्यास भएको र प्रधानमन्त्री ओलीको कार्यकालको अन्त्यसम्ममा सबै भवन उद्घाटन गर्ने गरी योजना बनाइएको उनले बताए ।

अर्को हप्ता प्रदेश प्रमुखको निवासको शिलान्यास गर्ने कार्यक्रम रहेको जानकारी दिँदै सचिव अधिकारीले मुलुकको समृद्धिको सपना साकार पार्ने चरणमा सरकार अगाडि बढेको र कतिपय निर्माण समयमै र समयअघि नै सम्पन्न गरेकोसमेत बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.