क्यानको बजेट ४६ अर्ब ९६ करोड, पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता

  २०७६ असोज २ गते १६:४६     विकासन्युज

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०७६ /०७७ का लागि ४६ अर्बको बजेट विनियोजन गरेको छ । क्यानले बिहिबार एक कार्यक्रमको आयोजना गर्दै चालु आवका लागि ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको हो ।

प्रक्षेपित आय अन्तर्गत ८ अर्ब ३३ करोड १३ लाख रहने अनुमान गरिएको छ । जसमध्ये एरोनोटिक अन्तर्गत ५ अर्ब ८३ करोड १९ लाख र नन एरोनोटिकल अन्तर्गत २ अर्ब ४९ करोड ९४ लाख अनुमान गरिएको छ । यस वर्ष विमानस्थल विकास शुल्क अन्तर्गत २ अर्ब २१ करोड २८ लाख उठाउने लक्ष्य रहेको बताइएको छ ।

क्यानको पुँजीको व्ययको पुँजीगत तर्फ ३४ अर्ब ४ करोड ३७ लाख, कार्यसञ्चालन तर्फ ४ अर्ब १८ करोड ८४ लाख गरी कुल ३८ अर्ब २३ करोड २१ लाख रहेको छ ।

के-के छन् नीति तथा कार्यक्रम ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आवको बजेट तथा कार्यक्रममा पुरानै आयोजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । नयाँ विमानस्थल निर्माण गर्नुपर्दा नयाँ विमानस्थल निर्माण सम्बन्धी मापदण्ड, २०७३ र हेलिप्याड निर्माण गर्नुपर्दा जमिनको सतहमा हेलिप्याड निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ पालना गरिने बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आवश्यक भौतिक पूर्वाधार विकास गरी सेवा प्रवाहमा थप गुणस्तरीयता कायम गरी बुटिक विमानस्थलका रुपले स्तरोन्नती गर्ने,२४ सै घण्टा सञ्चालन योग्य बनाइने, यात्रुका लागि ट्रान्जिट लाउन्जको व्यवस्था गरिने,  विमानस्थलको आन्तरिक उडान तर्फ सम्माननीयलाई मात्र सवारी साधन सहित विमान नजिक जान पाउने व्यवस्था गरिने लगायतका मापदण्ड, कार्यक्रम तथा योजनाहरु रहेका छन् ।

यस्तै आन्तरिक विमानस्थलहरुमा भू-उपग्रहमा आधारित यान्त्रिक उडान प्रणाली लागु गर्दै लैजाने, विराटनगर, चन्द्रगढी, जनकपुर र धनगढी विमानस्थलको गुरुयोजना तयार गरी सो अनुरुप स्तरोन्नति गर्दै लगिने, अन्तर प्रदेश हवाई सेवा सञ्चालन तथा विस्तार गर्न वायुसेवा कम्पनीहरुलाई प्रोत्साहन गरिने उल्लेख गरेको छ ।

तीन विमानस्थलका लागि २३ अर्ब

बजेट तथा कार्यक्रममा उल्लेख गरे अनुसार प्राधिकरणले तीन ठूला आयोजनाका लागि मात्र आधा बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवका रुपले चिनिने निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि प्राधिकरणले २३ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेकोे छ ।

प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यसम्पन्न गरी यथाशीघ्र सञ्चालनमा ल्याउने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि प्राधिकरणबाट गर्नुपर्ने प्रारम्भिक कार्यसम्पन्न गरिने जनाइएको छ । हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ७४ प्रतिशत, पोखराको ४२ प्रतिशत काम सकिएको छ भने निजगढ विमानस्थलको वातावरणिय प्रभाव मूल्याङ्कन सम्पन्न भएको छ ।

१३ वटा विमानस्थल नाफामा

देशका १३ वटा विमानस्थलहरु नाफामा सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ  । प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार हाल देशभर ५० वटा विमानस्थलहरु रहेका छन् । जसमध्ये ३२ वटा मात्र सञ्चालनमा रहेका छन् । अन्य विमानस्थलहरु यात्रुहरुके अभाव भई सडक विस्तार भएपछि बन्द भएका छन् ।

हाल देशभर सञ्चालनमा रहेका विमानस्थलहरु मध्ये नाफामा सञ्चालित विमानस्थलहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,गौतमबुद्ध विमानस्थल, नेपालगंज,  पोखरा रहेका छन् । यस्तै विराटनगर, सिमरा, चन्द्रगढी, जनकपुर, भरतपुर ,जोमसोम, धनगढी, सिमिकोट र तेन्जिङ्ग हिलारी विमानस्थल नाफामा सञ्चालित रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.