आयात/निर्यात बारे सम्पूर्ण जानकारी अब ‘ट्रेड इन्फर्मेसन पोर्टल’मा

  २०७६ असोज २ गते १६:१०     विकासन्युज

काठमाडौं । नेपाल सरकारले नेपालको व्यापार तथा निकासीलाई सहज बनाउन बिहिवारदेखि ट्रेड इन्फर्मेसन पोर्टलको सुरुवात गरेको छ ।

सो पोर्टलले नेपालबाट निर्यात हुने र विदेशबाट आयात हुने बस्तुको बारेमा सम्पूर्ण जानकारी दिने छ । यो पोर्टल निर्माणका लागि ३ करोड ५० लाख खर्च भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले विदेशी व्यापारीलाई सिधै नेपाली व्यापारीसँग सम्बन्ध गराउने उद्देश्यले ट्रेड इन्फर्मेसन पोर्टल सञ्चालनमा ल्याएको हो ।

उक्त ट्रेड पोर्टलको विहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरे । उनले भने–‘नेपालको निर्यात र आयातमा अब सहज अवस्था सिर्जना हुन्छ ।’ केन्द्रमा ट्रेड पोर्टलसम्बन्धी छुट्टै युनिट राखेर विश्वभरिका ताजा तथा नयाँ सूचनाहरु पोर्टलमा अपडेट गरिरहने उनले बताए । सो पोर्टल मार्फत नेपालको व्यापार कस्तो छ भनेर सजिलै जानकारी लिन पनि सकिने मन्त्री यादवले बताए ।

उद्योग मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले ट्रेड पोर्टलमा नेपालबाट निर्यात गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाका साथै निर्यातकर्ताको सम्पूर्ण विवरण उल्लेख हुने बताए ।

उनले भने–विदेशी व्यापारीले पनि नेपाली व्यापारीसँग ट्रेड पोर्टलमार्फत सहजै सम्पर्क गर्न सक्ने छन् । ट्रेड पोर्टलमा निर्यातकर्ताको सबै विवरण हुनेछ । व्यापारीले कुन वस्तु कति मूल्यमा कहाँ उत्पादन गर्छ र निर्यात गर्छ भन्नेसमेत पोर्टलमा राखिने बताए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले नेपाली वस्तु खोज्ने विदेशी व्यापारीलाई नेपाली व्यापारीसँग सहज सम्बन्ध गराउने उद्देश्यले ट्रेड इन्फर्मेसन पोर्टल निर्माण भएको बताए । विश्व बैंकसँगको सहकार्यमा यो पोर्टल निर्माण भएको हो । यो पोर्टलमा क्रमसः फिचरहरु थपिँदै जाने पनि बताए ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले ट्रेड इन्फर्मेसन पोर्टलका बारेमा उत्पादक र व्यापारीलाई व्यापक रुपमा बुझाउनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.