सञ्चारकर्मीलाई सराप्दै हिँडे अर्थमन्त्री: ‘….उनीहरुको जिविकोपार्जनका लागि समेत मैले बोल्नुपर्छ’

  २०७६ असोज २ गते १३:३६     विकासन्युज

काठमाडौं । विहीबार त्रिपुरेश्वरस्थित भञ्सार विभागको भवन उद्घाटन गर्ने कार्यक्रम थियो जसको उद्घाटनका लागि आमन्त्रित थिए अर्थमन्त्री युवराज खतिवडा । नयाँ भवनको माथिल्लो तलाको सभाहलमा सुरु भएको उक्त कार्यक्रमलाई बीचैमा स्थगित गरेर भवनको उद्घाटन गरेपछि प्रमुख अतिथिको हैसियतमा बोल्न सुरु गर्नेबित्तिकै उनले सञ्चारकर्मीलाई ‘सराप्न’ भ्याए ।

‘अर्थतन्त्रबारे अर्थमन्त्रीले बोलेन भने कसले बोल्छ ? अर्थमन्त्रीले केही बोलेन भने टिकाटिप्पणी र पत्रपत्रिकाहरुमा लेख छापेर जिविकोपार्जन गर्नेहरुलाई समस्या पर्छ, उहाँहरुको लागि भने पनि मैले बोल्नुपर्छ’ उनले भने ।

उनले आयातबारे गलत टिकाटिप्पणी गरिएकोप्रति आक्रोशित हुँदै भात खान नपाएर नेपालीहहरुले चामल आयात नगरेको समेत दाबी गरे । ‘कुल ग्राहस्र्थ उत्पादनमा ५१/५२ प्रतिशत लगानी भएको छ, त्यो भनेको १६/१७ खर्ब हो । लगानीको आधा त विदेशबाट कच्चापदार्थ, प्रविधि नै ल्याउनुपर्छ, त्यसैले ८/९ खर्ब त अनिवार्य आयात नै हुन्छ, १० खर्ब नै पुग्ला, त्यसैले हामीले आयात नियन्त्रण गर्ने भनेको ४/५ खर्बको आयातमध्ये मात्रै हो ।’ उनले भने ।

अर्थमन्त्री खतिवडाले नेपालीहरुले भातै खान नपाएर चामल आयात भएको नभई अन्य उत्पादनहरुका लागि चामल, गहुँ, मकै लगायतका अन्नहरु आयात गरिएको दाबी गरे । ‘आदर्श अर्थमन्त्री भएको भए जे पनि गर्नसक्थेँ होला, तर अर्थतन्त्रको समस्याहरुलाई हामीले बुझ्नुपर्छ । अलकत्रादेखि हवाइजहाजसम्म आयात हुने हाम्रो मुलुकमा आलाप गरेर मात्रै बस्न सुहाउँदैन’ खतिवडाले भने ।

भन्सारले उक्त कार्यक्रमसँगै अन्तरक्रिया कार्यक्रम समेत राखेको थियो । तर अर्थमन्त्रीले ‘अन्तरक्रिया गर्नुपर्दैन, अहिले भनेका कुराहरु निर्देशन भयो भन्दै एकै वचनमा खारेज गरिदिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.