एक महिनामा दुई करोड बढीको मदिरा कारोवार

  २०७६ असोज १ गते ११:२०     विकासन्युज

बाजुरा । गरिबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महिनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महिनामा रु दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ ।

उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका अनुसार रु डेढ करोडदेखि दुई करोडसम्मको मदिरा यसै महिनामा मात्रै कारोवार भएको बताएका छन् । व्यावसायिक प्यान नम्बर लिएका मदिरा पसलबाट न्यूनतम एक महिनामा रु दुई करोडभन्दा बढी मदिरा खपत भएको र त्योसँगै लाखौँका स्थानीयवासीद्वारा उत्पादन गरिएको अवैध मदिरा पनि बिक्री हुने गरेको उनको भनाइ छ ।

मदिरा पसलको कारोवारका लागि जिल्लाभरि ८४१ ले अनुमतिपत्र प्यान नम्बर लिएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क छ । मदिरा पसल नवीकरणबाट यो असोजसम्ममा गत वर्षको रु ३५ लाखभन्दा बढी राजश्व सङ्कलन हुने निमित्त कोष तथा लेखा नियन्त्रक धनबहादुर थापाले जानकारी दिएका छन् ।

आठ सय ४१ मदिराका पसलमध्ये १२ पसल मात्रै भ्याटमा दर्ता छन् भने बाँकी सबै पसल प्यानमा कारोवार गरिरहेका जनाइएको छ । जिल्ला सदरमुकाम मार्तडीपछिको ठूलो व्यापारी केन्द्र कोल्टी बजारमा मदिराका थोक बिक्रेता मङ्गल थापाका अनुसार मासिक रु ३० देखि ४० लाखसम्मको मदिरा बिक्री गर्ने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालयले गत वर्ष असोजदेखि हालसम्म करिब १५ हजार लिटर घरेलु मदिरा जफत गरेर नष्ट गरेको जनाएको छ । घरेलु मदिरा उत्पादन गर्न सबैजसो खाद्यान्नको बनाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

जिल्लाका स्थानीय तह त्रिवेणी नगरपालिका, बूढीगङ्गा नगरपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाले मदिरा निषेध गरेको छ भने गौमुल गाउँपालिकाले मदिरा सेवन बन्द नगरे पनि व्यवस्थापन गरेर मदिरा सेवन कार्ड प्रयोग गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.