ढुक्क हुनुस्, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले उपर्युक्त समयमा विदेशी लगानी भित्र्याउँछ-अनिल ज्ञवाली

  २०७६ असोज १ गते १०:४६     विकासन्युज

ऊर्जा, सडक, सुरुङ, केबलकार, एयरपोर्ट, होटेललगायतका ठूला पूर्वाधार परियोजनामा लगानी जुटाउने उद्देश्यले नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा आएको छ महिना पूरा भएकाे छ । नबिल, ग्लाेवल  आइएमइ जस्ताे ठूला बैंककाे प्रमुख कार्यकारी अधिकत सफल बैंकर्सकाे छवि बनाउनु भएकाे अनिल ज्ञवालीले यस बैंककाे प्रमुख कार्यकारी अधिकृतकाे  जिम्मेवारी समाल्नु भएकाे १० महिना भएकाे छ । शुरूमा नै २० अर्ब रूपैयाँ पुँजी लिएर पूर्वाधार निर्माणमा फाेकस गर्ने उदेश्यका साथ विशेष व्यवस्थासहित खुलेकाे याे बैंकले के गर्दैछ ?  २० अर्बभन्दा बढी काेर क्यापिटल भएकाे वाणिज्य बैंकबीचमा हाल मात्र १२ अर्ब पुँजी लिएकाे याे बैंकले कहिले फड्काे मार्छ ? कुन कुन क्षेत्रमा लगानी गर्दैछ ? सर्वसाधारणका लागि आईपीओ निष्कासन कहिले गर्छ ? प्रस्तुत छ  बैंक संचालनमा आएको यो अवधिमा बैंकले गरेका काम र भावी योजनाका विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीसँग गरिएको विकास बहस ।


नेपाल इन्फ्रास्ट्रक्चर बैंक कसरी अघि बढिरहेको छ ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक हाल सालै संचालनमा आएको राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंक हो । पूर्वाधारका परियोजनाहरूमा कर्जा प्रवाह गर्नुका साथै त्यस्ता परियोजना संचालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी गर्ने र उक्त परियोजनाहरुलाई आवश्यक पर्ने लगानीका स्रोतहरू आन्तरिक तथा वाह्य वित्त बजारबाट जुटाउने गरी यस बैंकलाई नेपाल राष्ट्र बैंकले संचालन अनुमति दिएको हो । पूर्वाधार परियोजनामा लगानी गर्न ठूलो पूँजी र लामो समयावधि चाहिन्छ । सोही आवश्यकतालाई पूर्ति गर्न स्थापना भएको यो बैंकले परियोजना छनोट गर्ने, अध्ययन गर्ने, सरोकारावालासँग छलफल गर्ने तथा पुँजी संकलनका उपयुक्त स्रोतहरु पहिचान गर्ने लगायतका कार्यहरू अघि बढाएको छ ।

बैंकका प्राथमिकताका क्षेत्रहरू के के हुन् ? कतिसम्म लगानीका आयोजनामा बैंकले लगानी गर्छ ?

ऊर्जा, सडक, सुरुङ, केबलकार, एयरपोर्ट, होटल अन्य पर्यटन पूर्वाधार साथै सामाजिक पूर्वाधारहरू जस्तै शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारको परियोजनाहरूलाई बैंकले प्राथमिकता प्राप्त क्षेत्रहरूमा राखेको छ । नेपाल राष्ट्र बैंकबाट पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७५ मा हालै भएको संशोधनले यस बैंकको न्यूनतम लगानी सीमा प्रति परियोजना ३० करोड तय गरेको छ ।

कस्ता कस्ता र कति लागतसम्मका आयोजनाहरूबाट बैंकमा कर्जाको लागि प्रस्ताव आएका छन् ?

पूर्वाधार विकासमा लगानीको पहुँच राज्यको सबै तहसम्म पुर्याउन हामी केन्द्र सरकार सहित प्रदेश र स्थानीय सरकारहरूसँग साझेदारीको प्रयास गरेका छौं, छलफल भइरहेको छ । बैंकले राम्रा परियोजनाहरू छनोट गर्दै लगानी विस्तार गर्दै जानेछ, सोही सन्दर्भमा हामी आफैले पनि परियोजना खोज्ने काम गरेका छौं, डेभलपरहरू पनि हामीकहाँ आउनु भएको छ ।

हामीले हाल गृहकार्य गरिरहेका पूर्वाधारका परियोजनाहरूमा मुख्यत ऊर्जातर्फ हाइड्रो र सोलार, पर्यटनतर्फ होटेल, केवलकार, एम्युजमेन्ट पार्क र रिक्रियशन सेन्टर हुन् । साथै एयरपोर्ट, मेडिकल कलेज, अस्पताल तथा कृषि पूर्वाधारका परियोजनाहरूमा कार्य अघि बढाइएको छ । यी सबै परियोजनाहरूमा हाम्रो लगानी हुन्छ नै भन्ने छैन । हामी परियोजनाहरूको विस्तृत अध्ययन र विश्लेषण गरेपछिमात्र लगानी गर्ने निर्णयमा पुग्छौ ।

बैंकको निक्षेप संकलनको अवस्था कस्तो छ ? कस्ता निक्षेपकर्ताले बैंकमा निक्षेप राख्न पाउँछन् ?

बैंकमा निक्षेप संकलन गर्ने पनि मापदण्ड तयार भएको छ । मैले माथि नै भने हामी संचालनको शुरुवाती चरणमा नै भएको हुँदा एकातर्फ हामीलाई निक्षेपको टट्कारो आवश्यकता छैन । अर्काेतर्फ हामीले निक्षेप संकलनका अलवा बण्ड जारी गर्ने, विदेशबाट रकम भित्रयाउने लगायतका पुँजी संकलनका विभिन्न विकल्पहरू पहिचान गरी अगाडी बढेका छौ । व्यक्तिगततर्फ न्यूनतम ५ वर्ष अवधिको न्यूनतम १ करोड र संस्थागततर्फ सोही अवधिको न्यूनतम ५ करोडको निक्षेप राख्न सकिने व्यवस्था छ ।

अहिलेसम्म कति कर्जा प्रवाह भयाे ?

हालै यस बैंकको अगुवाईमा ३२ मेगावाटको जलविद्युत आयोजनामा चार अर्ब ६ करोड लगानी गर्न डेभलपरसँग सह–वित्तीयकरण सम्झौता भएको छ । कर्जाको माग उच्च छ । यथेष्ट परियोजनाहरू पहिचान भई कर्जा प्रवाह गर्ने निर्णयको प्रकृयामा छ । परियोजनाहरूमा थप कर्जा प्रवाह भएको समाचार तपाईंहरूले छिट्टै पाउनुहुनेछ ।

बैंक स्थापनादेखि अहिलेसम्म गरेका र गर्न लागेका उल्लेख्य कामहरू के के हुन् ?

१,२, ३ गरेर यो यो गर्याै भन्ने भन्दा पनि संचालनको शुरुको वर्ष भएकोले पनि अहिले हामी मुख्यतः नीति तथा योजना निर्माणका साथै उपयुक्त परियोजनाको छनोट गरी लगानी गर्ने तयारीमा छौं । विशेषतः विदेशी बजारबाट स्रोत संकलन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रीत छ । यस आर्थिक वर्षमा हामी सर्वसाधारणको लागि सर्वसाधारण शेयर (आईपीओ) जारी गर्ने र बण्ड जारी गरी विदेशी वित्त बजारबाट ५ अर्ब रकम संकलन गर्ने योजनामा छौं ।

बैंकमा विदेशी पार्टनर पनि भित्र्याउने कुरा थियो ? त्यो के भइरहेको छ ?

विदेशी साझेदार भित्र्र्याउने कुरा अलि गहकिलो विषय हो । विभिन्न तहबाट सोका लागि प्रयास भइरहेको छ । हामी सम्भावित विदेशी साझेदारहरूसँग सम्पर्कमा पनि छौं । यस बैंकमा कुनै विदेशी बैंक तथा वित्तीय संस्थाले मात्र लगानी गर्न पाउने गरी नीतिगत प्रावधान रहेको हुँदा प्रर्याप्त गृहकार्य पश्चात उपयुक्त समयमा विदेशी बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गर्नेछौ ।

नेपालकै ठूलो बैंकमा लगानी गर्न विदेशी लगानीकर्ता त अहिलेसम्म नआउनुकाे कारण के हो ?

मैले अघि पनि भने विदेशी लगानीकर्ता नआएको होइन । सम्भावित विदेशी बैंक तथा वित्तीय संस्थाहरूसँग कुरा हुँदा उहाँहरू सहकार्य गर्न इच्छुक हुनुहुन्छ । यद्यपि, उहाँहरूको पनि आ–आफ्नै नीतिगत व्यवस्थाहरू होलान्, हामीले पनि विदेशी लगानीकर्ता भित्र्याउदा नीतिगत एवम् व्यवहारिक पक्ष दुबै हेर्नुपर्ने हुन्छ, कतिपय शर्त बन्देजहरू मान्नुपर्ने हुन्छ । यी सबै चाँजोपाँजो मिलाउन समय पक्कै लाग्छ । तर, ढुक्क हुनुस्, बैंकले उपर्युक्त समयमा कुनै न कुनै रुपमा विदेशी लगानी भित्र्याउछ ।

बैंकमा कस कसको सेयर कति कति छ ?

कुल ४० अर्ब रुपैयाँ अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकमा नेपाल सरकारको १० प्रतिशत, वाणिज्य बैंकहरूको २०.८९ प्रतिशत, सार्वजनिक तथा निजी कम्पनीको ५.१५ प्रतिशत, इन्स्योरेन्स कम्पनीको १८.९७ प्रतिशत र उद्योगीहरूको ४.९९ प्रतिशत शेयर लगानी रहेको छ । ४० प्रतिशत शेयर आईपीओ मार्फत जारी हुने गरी सर्वसाधारणका लागि छुट्याइएको छ ।

बैंकको भावी रणनीति के हो ? ५ वर्षमा बैंक कहाँ पुग्छ र कस्तो अवस्थामा रहन्छ ?

मैले अघि पनि भने संचालनको शुरुको वर्ष हामी मुख्यतः नीति तथा योजना निर्माणको तहमा धेरै कार्यहरु अगाडी बढाइएको छ । बैंकलाई पहिलो वर्ष रणनीतिक रुपमा सवल बनाउने छौं र सोही रणनीतिको आधारमा आउँदा वर्षहरुमा स्रोत संकलन र लगानी विस्तारलाई तीब्रता दिनेछौ । तँपाईले ५ वर्षमा बैंक कहाँ पुग्छ भन्नुभयो । यो प्रश्नको उत्तर यही नै हो भन्न त सक्दिन ।

तर, बैंकले अबको ५ बर्षभित्रमा पूर्वाधार विकासको अपेक्षाकृत लक्ष्य प्राप्त गर्न लगानीको पहुँच मुलुक भरिनै पुर्याउनेछ । बैंकको धेरै शाखा संजाल नहुने भएपनि प्रत्येक प्रदेशमा सम्पर्क अफिस स्थापित होलान् र त्यही संरचना मार्फत हामी संघ, प्रदेश र स्थानीय तहमा निर्माण हुने प्रायः सबै ठूला पूर्धारका परियोजनाहरूमा कर्जा प्रवाह गर्न मुख्य भूमिका खेल्नेछौ । साथै, त्यस्ता परियोजना संचालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी र अन्तर्राष्ट्रिय बजारबाट स्रोत संकलन गरेको अवस्थामा यो बैंक हुनेछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक, २० अर्ब पुँजी भएकाे बैंक, ठूलाे हुन्छ भनिन्थ्याे । तर अहिले धेरै बैंककाे काेर क्यापिटल २० अर्ब भन्दा बढी छ । वाणिज्य बैंक अन्य वाणिज्य बैंक र यो बैंकमा के भिन्नता छ ?

वाणिज्य बैंक र हाम्रो स्कोप नै फरक छ । हामी पूर्वाधार सम्बन्धी परियोजनामा मात्रै लगानी गर्ने र त्यसका लागि स्रोत जुटाउन खोलिएको विशेष प्रकृतिको बैंक हो । हामीले रिटेल बैंकिङको कार्य गर्दैनौ ।

बैंक संचालन हुँदै गर्दा कुनै समस्याहरू देखिएका छन् कि ? छन् भने के कस्ता समस्या बैंकले झेल्नु परेको छ र यसको निराकरणको लागि बैंकले कस्तो कदम चाल्छ ?

नयाँ अवधारणा सहित स्थापना भएको नयाँ प्रकृतिको बैंक भएकोले बैंक संचालनका काम कारवाही गर्दा केही समस्या देखिनु त स्वभाविक नै हो । मुख्यतः शुरुवाती अवस्थामा बाझिएका नीति नियमहरुको गाँठो फुकाउने, पूर्वाधार परियोजनामा लगानीका नमूनाहरू नभएकोले ति नमूनाहरू विश्व बजारबाट सिक्ने, त्यसका व्यवहारिक पक्षहरूमा थप कार्य गर्ने र विदेशी स्रोत भित्र्याउन आवश्यक पर्ने कन्ट्री रेटिङ, हेजिङ तथा अन्य नीति नियमका विषयहरू पहिचान गर्दै समाधानतर्फ डोर्याउन समय लागि रहेकोछ ।

व्यवसायिक जगतमा लगानीयोग्य पूँजीको अभाव छ । त्यसैले गर्दा बैंकको ब्याजदर बढिरहेको छ । यस्तो अवस्थामा महँगोमा निक्षेप उठाएर पूर्वाधारमा लागानी गर्ने भन्ने कुरा पनि सम्भव नदेखिएला, सस्तो लागतमा स्रोत जुटाउने विकल्प के हुन सक्छन् ?

ब्याजदर भनेको बजारले निर्धारण गर्ने विषय हो । महँगाे र सस्तो भन्दा पनि प्रतिस्पर्धी दररेटमा निक्षेप उठाउने हाम्रो सदैव प्रयास रहनेछ । तपाईले हाम्रो अहिलेको मुद्दती निक्षेपको दररेट हेर्नुभयो भने यो बजार अनुसार नै छ । मैले पहिले पनि भने हामी जस्ता बैंकले स्रोत संकलनका लागि मूलतः फण्ड, बोण्ड, डिवेञ्चरहरूजस्ता उपकरणहरु प्रयोगमा ल्याउने हो । मुद्दती निक्षेपमा यस्ता बैंकहरूको धैरै हिस्सा हुँदैन र हाम्रो सोच पनि मुद्दती निक्षेप भन्दा अन्य माध्यमबाट स्रोत जुटाउने नै हो ।

याे बैंकको स्वभाव नै दीर्घकालमा नाफा कमाउने खालको छ, तर लगानीकर्ताहरू अल्पकालमै प्रतिफल खोज्छन् । साधारण सेयर निष्कासनपछि त झन् यो दवाव बढ्ला, यस्तो अवस्थामा बैंकको रणनीति के हुन्छ ?

यस बैंकका संस्थापक लगानीकर्ताहरु मूलतः नेपाल सरकार सहित वाणिज्य बैंकहरू, सार्वजनिक तथा निजी कम्पनीहरू, इन्स्योरेन्स कम्पनीहरू र प्रतिष्ठित उद्यमी व्यवसायीहरू नै हुनुहुन्छ । उहाँहरू यो बैंकको उद्देश्य, लगानीको प्रकृति र क्षेत्र दीर्घकालिन हो । सोबाट प्राप्त हुने प्रतिफल सोही बमोजिमकोे विषयमा प्रष्ट हुनुहुन्छ ।

यसैगरी आईपीओ मार्फत बैंकको सर्वसाधारण शेयर निष्काशन गर्दा हामी आव्हान पत्रमा समेत पूर्वाधारको लगानीको प्रकृति, क्षेत्र एवम् सोबाट प्राप्त हुने प्रतिफलका विषयहरूमा प्रष्ट रुपले उल्लेख गरेर जानेछौं । यसले गर्दा यस बैंकमा लगानी गर्ने सर्वसाधारण शेयरधनीहरूले समेत यो कुरा बुझ्नु हुनेछ भन्ने लाग्दछ । यद्यपि, अन्य बैंकको तुलनामा हाम्रो बैंकको संचालन खर्च तुलनात्मक रुपमा कम हुने र पुँजी तथा लगानीको आकार ठूलो भएकोले शुरुवाती अवस्था देखि नै प्रतिफल दिन सक्नेगरी कार्ययोजनाहरू समावेश गरेका छौ ।

पहिलो लगानीको रुपमा हाइड्रो क्षेत्र राज्नु भएको छ, तर समयमा आयोजना नबढ्ने र लागत बढ्दै जाने समस्या यो क्षेत्रमा देखिन्छ, समयमै गुणस्तरीय आयोजना बन्ने र नाफा दिनसक्ने विश्वास कसरी गर्ने ?

हाइड्रोमा पहिलो लगानी हुनुको मतलव अरु क्षेत्रमा हामीले लगानीको प्रयास नथालेको भन्ने होइन । हामी सोलार, होटल, केवलकार, एम्युजमेन्ट पार्क जस्ता पूर्वाधारका ठूला परियोजनाहरूमा कार्य अघि बढाएका छौ । मूलत: हाम्रो लगानीको न्यूनतम सीमा रु.३० करोड प्रति परियोजनाभएको र हालको बजारमा अन्य पूर्वाधारका परियोजनाका तुलनामा हाइड्रोका परियोजनाहरूको हिस्सा बढी भएकोले हामीकहाँ पनि हाइड्रोका परियोजनाहरू शुरुवाती अवस्था देखि नै आएका हुन् र सोही बमोजिम पहिलो लगानीको सम्झौता हाइड्रोमा भएको हो ।
हामी प्रोजेक्ट फाइनान्सिङ मात्र गर्ने भएकोले परियोजना विश्लेष्ण तथा छनोट सम्बन्धि मापदण्ड तयार गरी लागू गरेका छौ ।

यसले हामीलाई पूर्वाधारको कुन क्षेत्र तथा कस्तो परियोजनामा कति लगानी गर्ने भन्ने सम्बन्धी सीमा तय गरेको छ । सोही अनुरुप हामी सम्भाव्यता भएका राम्रो प्रतिफल दिन सक्ने परियोजनाहरूलाई छनोट गर्दैछौं । छनोट भएका परियोजनाहरू यस बैंकअन्तर्गतको विभाग तथा व्यवस्थापन तहमा विस्तृत अध्ययन गर्ने गराउने छौं । हामीले सोका लागि एउटा नविनतम अभ्यास स्वरुप पूर्वाधार सम्भाव्यत विभागको स्थापना गरेका छौं । विभाग र व्यवस्थापनबाट गरिने अध्ययन तथा विश्लेषणको अलावा हरेक परियोजनालाई हरेक परियोजनाको डीडीए गरेरमात्र स्वीकृत गर्ने गरेका छौ । यसले परियोजनाहरूलाई केन्द्रीत गरी विशेष निरीक्षण तथा सुपरिवेक्षण गर्ने गराउने बहुवैकल्पिक टीमको व्यवस्था गर्ने सोच पनि छ ।

तपाई त बैंकिङ क्षेत्रमा सफल भनेर चिनिएको व्यक्ति, एउटा फरक बैंकिङ अभ्यास गर्ने संस्थाको नेतृत्व गरिरहनु भएको छ, वाणिज्य बैंक र पूर्वाधार विकास बैंकको सवल र कमजोरीलाई कार्यकारी प्रमुखको रुपमा कसरी विश्लेषण गर्नुहुन्छ ?

वाणिज्य बैंक र हाम्रो कार्यक्षेत्र त विल्कुलै फरक छ र स्वभाव पनि धैरै हदसम्म भिन्न छ । हामी भनेको विशेषतः पूर्वाधारमा विशेषज्ञता राख्ने वाह्य विशेषज्ञ व्यक्तिफर्म /कम्पनीहरूसँग सहकार्य गर्ने र बैंकको कर्मचारीलाई पूर्वाधार सम्बन्धी विषयहरूमा केन्द्रीत गराइ क्षमता अभिवृद्धि गर्दै पूर्वाधारमा लगानीको जोखिमलाई न्यूनीकरण तथा विविधिकरण गर्दै अगाडी बढ्नुपर्छ ।  यही नै हाम्रो विशेषता हो ।

अर्को गम्भिर विषय भनेको सम्पत्ति र दायित्वको मेल गराउँदै लैजान सक्ने क्षमता हो । वित्त बजारबाट अपेक्षित आकारको स्रोत संकलन तथा परियोजनाहरूको विशिष्टिकृत मूल्यांकन र निरिक्षण सम्बन्धी आवश्यक कार्यविधि, प्रकृया र सोसँग सम्बन्धित उपकरण लगायतका विषयहरूमा हाल केही असमन्जस्यता देखिएता पनि समयसँगै यस बैंकले सोमा परिपक्वता र अनुभव प्राप्त गर्दै जानेछ ।

वाणिज्य बैंकहरूले आफ्नो पोर्टफोलियो समय, लगानीको क्षेत्र लगायतमा विभाजन गर्छन्, तपाईँहरूलाई त्यो छुट छैन, जोखिम कम गर्ने तपाईको रणनीति चाहिँ के हो ?

हाम्रो पोर्टफोलियो भनेको कर्जा लगानीतर्र्फ पूर्वाधारको कुन क्षेत्रमा कती लगानी गर्दा जोखिम व्यवस्थापनको दृष्टिकोणले जोखिमलाई विविधिकरण गर्न सकिन्छ भन्ने हो र सोका लागि पूर्वाधारको लागि गहन विश्लेषण र छनोट मापदण्ड तयार गरी लागू गरिएकोछ । यसैगरी दायित्व तर्फ स्रोत संकलनका कस्ता उपकरणहरूले बैंकलाई व्याजदरको जोखिम न्यून गर्न सकिन्छ । सोको मूल्यांकन गरी सोही बमोजिम दायित्व तर्फको मिश्रण तयार गर्ने गरिन्छ । क्षेत्र र उपकरण फरक भएपनि जोखिम र पोर्टफोलियो व्यवस्थापनको विधि हाम्रो र वाणिज्य बैंकहरूको उस्तै उस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.