हजार रुपैयाँको सबै नोट त्रुटीपूर्ण, ३ खर्ब १० अर्बको नयाँ नोट छापिदै, अबको नोटमा राम लक्ष्मण

  २०७६ भदौ ३१ गते १८:४७     रामकृष्ण पाैडेल

काठमाडौं । हजार रुपैयाँ दरका नोट छपाईको क्रममा नेपाल राष्ट्र बैंकले ठूलो गल्ती गरेको भेटिएको छ । चलनचल्तीमा रहेको एक हजार रुपैयाँको नोटमा विदेशी हात्ती छापिएको पुष्टि भएको छ ।

कुनै पनि देशको मुद्रामा त्यो देशको संस्कृति र इतिहास झल्कने हुनुपर्छ । तर नेपाली नोटमा प्रयोग भएको हात्ती नेपाली नभएको पुष्टि भएको छ । ठूलो कान, दाह्रा र शरिरको बनौटको आधारमा नोटमा छापिएको हात्ती अफ्रिकन वा वर्मेली भएको विज्ञहरुले बताएका छन् ।

चलनचल्तीमा भएको नोट त्रुटीपूर्ण देखिएपछि राष्ट्र बैंकले ३ खर्ब १० करोड रुपैयाँ बराबरको हजार दरका ३१ करोड थान नयाँ नोट छाप्दैछ । नयाँ नोट दशैं अगाडि नै बजारमा आउने नेपाल राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

नयाँ नोटमा अब पुरानो हात्ती आउने छैन । एक हजार रुपैयाँ अंकित नयाँ नोटमा राम लक्ष्मण नाम गरेका दुई हात्तीको फोटो छापिने डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । नयाँ नोटमा आँखा नदेख्ने व्यक्तिले छामेर चिन्न सक्ने, फरक फरक कोणबाट हेर्दा फरक फरक रंग देखिने सुरक्षणयुक्त धागो लगायत एन्टिकपिङ (नक्कली नोट बनाउने नमिल्ने) फिचर हुने उनले बताए ।

किन राम र लक्ष्मण ?

राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठको अनुसार राम र लक्ष्मण देवीकल्लीले जन्माएकी जुम्ल्याहा हात्ती हुन् । नयाँ नोटमा उनीहरुको फोटो राख्ने निर्णयपछि बन्य जन्तु संरक्षण विभागका कर्मचारले नै राम र लक्ष्मणको फोटो खिचेर राष्ट्र बैंकलाई बुझाएको उनले जानकारी दिए ।

‘संसारमा हात्तीले जुम्ल्याहा बच्चा विरलै जन्मन्छन् । हात्तीका जुम्ल्याहा बच्चा जन्मिए भने पनि बिरलै बाँचेका हुन्छन् । तर चितवन राष्ट्रिय निकुल्जको प्रत्यक्ष निगरानीमा रहेकी देवीकल्लीले एक साथ जन्माएको जुम्ल्याहा हात्ती दुबै स्वस्थ्य छन् । त्यसैले पनि उनीहरुको फोटो राख्दा राम्रो हुने हामीले सुझाव दिएका थियौंं’ उनले भने ।

जुम्ल्याहा भएकोले उनीहरुको नाम राम र लक्ष्मण राखिएको हो । रामलाई हाल चितवनकै कसरामा पालिएको छ भने लक्ष्मणलाई सौराहमा पालिएको छ । २०६५ मंसिर २० गते चितवन राष्ट्रिय निकुञ्जमा जन्मिका राम लक्ष्मण अहिले ११ वर्षका भए ।

कसरी भयो गल्ती

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनीका अनुसार २०२६ सालदेखि राष्ट्र बैंकले १००० रुपैयाँ दरको नोट छाप्न थालेको हो । नेपाली नोटको बारेमा जानकार श्याम सुन्दर अग्रवालका अनुसार शुरुमा हजारको नोटको अगाडि भागमा राजा महेन्द्रको फोटो थियो भने पछाडिको भागमा धौलागिरी हिमालको फोटो थियो । राजा महेन्द्र र धौवलागिरी हिमाल भएको नोटमा तत्कालनि गभर्नर यादवप्रसाद पन्तको मात्र हस्ताक्षर रहेको छ ।

महेन्द्रको निधनपछि हजारको नोटमा राजा विरेन्द्रको फोटो छापिए । धौलागिरी हिमाललाई हटाएर हात्तीको फोटो छाप्न थालियो । पूर्व गभर्नरहरु कुलशेखर शर्मा, कल्याणबिक्रम अधिकारी, गणेशबहादुर थापा, हरिसंकर त्रिपाठी, सत्येन्द्रप्यारा श्रेष्ठ, दिपेन्द्रपुरुष ढकालको पालासम्म हजारको नोटमा पटक पटक धेरै परिवर्तन भए तर हात्तीको फोटो परिवर्तन भएन ।

तत्कालनि राजा ज्ञानेन्द्र शाहको फोटो राखिएको हजारको नोटमा पनि हात्ती नै राखिएको थियो र नोटमा सहि गरेको थिए गभर्नर डा. तिलक रावलले ।

लोकतन्त्र आएपछि नेपाली नोटहरुमा राजाको फोटो हटाइयो । सगरमाथाको फोटो राख्न थालियो । सगरमाथा छापिएको नेपाली नोटमा पहिलो सहि गरे तत्कालिन कामु गभर्नर कृष्णबहादुर मानन्धरले ।

नोटमा राजा हटाएर सगरमाथा राख्न थालिए पनि जंगली जनावरको फोटो राख्ने परम्परा जारी रह्यो । नेपाली नोटबारे राम्रो जानकारी राख्ने अग्रवाल भन्छन्–अरु नोटमा राखिएको जनावर बेलाबेलामा परिवर्तन भईरहेको पाइन्छ । तर १००० रुपैयाँको नोटमा हात्तीको फोटो परिवर्तन भएन ।

अब सच्चियो, गल्ती नकोट्याउः सत्यमोहन जोशी

पछिल्लो समय शदाब्दी पुरुष सत्यमोहन जोशीले नोटमा प्रयोग भएको हात्ती नेपाली नभएको जानकारी राष्ट्र बैंकलाई दिएका थिए । नोट तथा सिक्का छाप्ने क्रममा राष्ट्र बैंकले परामर्श लिदै आएको व्यक्तित्व जोशीले हात्तीको बारेमा गम्भीर विषय उठान गरेपछि राष्ट्र बैंकले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागसँग अध्ययनसहितको सुझाव मागेको थियो । विभागले उक्त हात्ती नेपाली नभएको जानकारी गराएपछि राष्ट्र बैंकले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको सुझाव अनुसार राम लक्ष्मणको फोटो राख्न लागेको हो ।

‘नयाँ नोटमा राम लक्ष्मणको फोटो आउँदैछ । सच्याउनुपर्ने काम सच्चिएको छ । अब गल्ती नकोट्याऊ’ विकासन्युजसँगको संक्षिप्त कुराकानीमा संस्कृतिविद जोशीले भने–‘गभर्नर कल्याण विक्रम अधिकारी देखि गभर्नर चिरञ्जीवि नेपालसम्म नोट डिजाइन समितिमा म छु । गभर्नर फेरिए, म रहिरहे । गल्ती कमजोरी भए, त्यसलाई नखोतलौ ।’

तर हजार दरका नोटमा छापिएको हात्ती विदेशी वा स्वदेशी भनेर प्रमाणित नभएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी बताए । ‘हाल नोटमा रहेको हात्ती विदेशी भनेर हटाउन लागिएको होइन’ डेपुटी गभर्नर शिवाकोटीले भने–‘पछिल्लो समय राष्ट्र बैंकले नोट छाप्नुपूर्व नोटको बारेमा विस्तृत जानकारी अभिलेख आन्तरिक रुपमा राख्न लागिएको छ । सोही क्रममा पहिला प्रयोग भएको हात्तीको बारेमा विस्तृत जानकारी भएन । कसले खिचेको ? कहाँको हात्ती ? भन्ने जानकारी राष्ट्र बैंकलाई पनि भएन । कतै वेवसाइटबाट तानेरा राखिएको थियो कि भन्ने आशंका पनि रह्यो । त्यसैले नयाँ पुरानो हात्ती हटाएर राम लक्ष्मणलाई राख्न लागिएको हो ।’

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागले दिएको हात्तीको फोटो राम्रो पनि भएको र त्यस फोटोको बारेमा पूर्ण जानकारी पनि भएकोले नयाँ नोटमा प्रयोग गरिएको उनले बताए ।

हजारको नोटमा जस्तै सबै नेपाली नोटहरुमा नेपालमा पाइने विभिन्न प्रकारका जनावरहरुको प्रयोग भएको छ । ५ रुपैयाँको नोटमा याक (चौरी गाई), १० रुपैयाँको नोटमा कस्तुरी मृग, २० रुपैयाँको नोटमा जरायो, ५० रुपैयाँको नोटमा हिँऊ चितुवा, १०० रुपैयाँको नोटमा गंैडा, ५०० रुपैयाँको नोटमा बाघ र १००० रुपैयाँको नोटमा हात्ती छ ।

पहिला पनि गल्ती

यसअघि राष्ट्र बैंकले २० रुपैयाँ दरका नोट छाप्दा पनि यस्तै विवाद भएको थियो । ‘बीस’ को सट्टा बिस लेखेपछि भाषाविद्हरुले राष्ट्र बैंकको कडा आलोचना गरेका थिए । ‘संस्कृत, भाषाको ज्ञाता राष्ट्र बैंक होइन । मुद्रामा भाषा, सस्कृति, राष्ट्रिय पहिचाहनको चिन्ह राख्दा हामीले विज्ञको सहयोग लिन्छौं’ डेपुटी गभर्नर चिन्तापणि शिवाकोटीले भने ।

कुनै पनि दरको नोटको डिजाइन तयार गर्दा राष्ट्र बैंकले नोट डिजाईन समिति बनाउँछ । समितिमा गभर्नर, दुई जना डेपुटी गभर्नर, नोट विभागका कार्यकारी निर्देशक, नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट एक जना विज्ञ, वन विभागका विज्ञ, पुरातत्व विभागको विज्ञ लगायतको सहभागिता हुन्छ ।

मुद्राको भित्र, प्राविधिक फिचर राष्ट्र बैंकले तयार गर्छ । नोटमा हुनुपर्ने सुरक्षणको फिचरहरु राष्ट्र बैंकले नै तय गर्छ । तर नोटमा राष्ट्र प्रमुखको फोटो राख्ने वा सगरमाथाको, जनावरको वा राष्ट्रिय पहिचान झल्कने चिन्ह्र के राख्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.