गत आवमा १ लाख ३ हजार परे बीमा दावी, अझै ११ अर्ब भुक्तान हुन बाँकी

  २०७६ भदौ ३१ गते १७:५२     विकासन्युज

काठमाडौ । निर्जीवन बीमा कम्पनीहरूले आव २०७५/७६ मा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ बीमा दावी भुक्तान गर्न बाँकी रहेको छ । गत आवमा १७ बीमा कम्पनीमा १ लाख ३ हजार बीमा दावी परेको थियो ।

सो बीमा दावीमध्ये कम्पनीहरूले सो अवधिमा ८२ हजार २ सय ८० दावीको १३ अर्ब ३२ करोड १२ लाख रुपैयाँ भुक्तान गरेका छन् । गएको आवमा २४ अर्ब २३ करोड ७२ करोड रुपैयाँ मूल्य बराबरको बीमा दावी परेको थियो ।

बीमा कम्पनीहरूले बीमा दावीे भुक्तान गर्न समय लगाएपनि कागजात पुग्ने वित्तिकै बीमा दावी भुक्तान प्रक्रिया अघि बढाउने गरेको बीमा समितिले जनाएको छ । कुनैपनि बिमितले बीमा दावी भुक्तानीको लागि सम्बन्धित बीमा कम्पनीमा निवेदन दिएको १५ दिनभित्र सर्वेयरले जाँचबुझ गरी दावी बीमाको मूल्यांकन प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था बीमा नियमावली २०४९ मा उल्लेख गरिएको छ । कम्पनी उक्त प्रतिवेदन प्राप्त गरेको ३५ दिनभित्र बीमा दावी भुक्तान गरिसक्नु पर्ने व्यवस्था छ ।

दाबी परेको रकम धेरै जस्तो देखिएपनि कम्पनीहरुले पुर्नबीमा मार्फत भुक्तानी गर्ने भएकाले यसले बीमा बजारमा खासै असर नपार्ने बीमा विज्ञ भोजराज शर्माले बताए । बीमा विज्ञ शर्माले हवाईजहाजको मूल्य धेरै पर्ने भएकाले दाबी समेत धेरै नै देखिएको सुनाए ।

त्यस्तै, पुनर्बीमा कम्पनीले भने हवाई बीमाको ९९ प्रतिशत र अन्य अग्नि लगायतको बीमामा ६० प्रतिशत जोखिम व्यर्होर्दै आएको पाइन्छ ।

२० निर्जीवन कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी तथा एनएलजी इन्स्योरेन्स कम्पनीको तथ्यांक भने बीमा समितिको तालिकामा देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.