अर्थमन्त्रीको भद्र अभिव्यक्ति सोल्टी होटेलमा पनि दोहोरियो, बैंकहरूसँग भने-मैले त हेर्नमात्रै सक्छु

  २०७६ भदौ ३१ गते १५:०७     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चयकोषको ५८ औं वार्षिकोत्सव समारोहमा सबेरै सहभागी हुन ’आएका अर्थमन्त्री युवराज खतिवडाबाट सदाझैं अपेक्षा गरिएको भन्दा फरक अभिव्यक्ति आम सहभागीहरूले सुन्न पाए । जुन कार्यक्रममा गयो, त्यहीँ कार्यक्रमका आयोजकहररूको आलोचना गर्दै हिँड्ने डा. खतिवडाको बानी कर्मचारी सञ्चयकोषको हकमा समेत दोहोरिने अपेक्षा गरिएको थियो ।

तर मंगलबार त्यस्तो भएन, अभिव्यक्तिको सुरुदेखिनै कर्मचारी सञ्चयकोषले गरेका काम कारबाहीप्रति प्रशंसा गर्दै खतिवडाले अब कर्मचारी सञ्चय कोषलाई शेयर बजारमा समेत लगानी गर्न आग्रह गरे । उनले सञ्चय कोषलाई मात्रै नभएर नागरिक लगानी कोष, सैनिक कल्याणकारिणी कोष लगायतका देशका ठूला संस्थाहरुलाई समेत शेयर बजारमा सकारात्मक भूमिका खेल्न आह्वान मात्रै गरेनन् लगानीकर्ताहरुलाई शेयर किन्ने उपयुक्त अवसर यही भएको भन्दै बजारमा लगानी गर्न आग्रह समेत गरे । उनको नरम अभिव्यक्तिका कारण लगानीकर्ताहरु उत्साहित हुँदा निरन्तर घट्दै आएको बजारमा सकारात्मक प्रभाव पर्यो र बजार एकैदिन २६.९१ अंकको सुधार आयो ।

राष्ट्रिय सभा गृहको कार्यक्रमपछि उनको कार्यक्रमको सूची थियो, होटल सोल्टीमा । नेपाल बैंकर्स संघ र विजिनेश टेलिभिजनको संयुक्त आयोजनामा भएको ‘बैंकिङ समिट’ नामक कार्यक्रममा पनि अर्थमन्त्री खतिवडाले नरम भाषण गरे ।

उनले बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण लगानीकर्ता भन्दै आफूले बैंकिङ क्षेत्रमा केही नगर्ने बरु बैंकिङ क्षेत्रका गतिविधिहरुका बारेमा अब्जरभेसन मात्रै गर्नसक्ने भन्दै राष्ट्र बैंक स्वायत्त ढंगले अघि बढ्नसक्ने आशयको अभिव्यक्ति दिए । उनले बैंकहरुलाई सहायक कम्पनीहरुको नियन्त्रण राम्रोसँग गर्दै बजार निर्माणमा ध्यान दिन समेत आग्रह गरे ।

यद्यपि उनले बैंकहरुलाई अल्पकालिन लगानी प्रवृत्ति त्याग्न र धितोमा आधारित कर्जाभन्दा योजना र नगद प्रवाहमा आधारित कर्जा प्रवाह गर्न आग्रह भने गरे । ‘बैंकहरु आफैंमा सुरक्षित बन्नुपर्छ, हामीले योजनाको सम्भावना र दीगोपन हेर्नुपर्छ, धितो होइन, ग्राहकहरुको अपेक्षा पूरा गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्न समेत भूमिका खेल्नुस्’ उनले भने । अर्थमन्त्री खतिवडाले बैंकहरुलाई प्रविधिमा सम्झौता नगर्न र भर्चुअल बैंकिङमा जान समेत आग्रह गरे ।

नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने कानूनको अभावकै कारण योजनामा आधारित लगानी सम्भव नभएको भन्दै पहिले कानून सुधार गर्न आग्रह गरे । उनले बैंकिङ क्षेत्र ९० प्रतिशत जनतामा पुग्दा पनि बैंकमा पुग्ने जनता ४० प्रतिशतमात्रै रहेको भन्दै वित्तीय पहुँच र साक्षरता बढाउनु चुनौती रहेको बताए ।

उनले राष्ट्र बैंकले स्प्रेडदर घटाएर वास्तविक स्प्रेडदर ३.२ प्रतिशत बनाएको र त्यसमध्ये २ प्रतिशत सञ्चालन लागत नै भएको भन्दै १.२ प्रतिशत मार्जिनमा बसेर लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिने, लोनले प्रोभिजन कायम गर्ने, प्रविधि र सुरक्षा कायम गर्ने जस्ता कामहरु गर्न निकै कठिन भएको बताए । हाल बैंकिङ क्षेत्रमा तरलताको निकै उतारचढाव देखिनु अहिलेको बैंकिङ क्षेत्रको मुख्य समस्या रहेको भन्दै यसलाई समाधान गर्नेतर्फ अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.