अर्थमन्त्री खतिवडाले भने-‘५८ वर्षमै संस्था बुढो हुँदैन, सेयर बजारमा आउनुस्’

  २०७६ भदौ ३१ गते १३:१०     विकासन्युज


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चय कोषलाई सेयर बजारमा प्रवेश गर्न आग्रह गरेका छन् । मंगलबार कोषको ५८ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले लगानीकर्तालाई सेयर बजारमा आकर्षित गर्नको लागि कर्मचारी सञ्चय कोष जस्ता सरकारी तथा सार्वजनिक संस्थाहरुले सेयर बजारमा प्रवेश गर्नु पर्ने बताएका हुन् ।

‘५८ वर्ष उमेर त्यति धेरै होइन’ उनले भने–‘५८ वर्षमा मान्छेमा धेरै काम गर्न सक्ने उर्जा रहिरहन्छ, त्यसैले तपाईँहरु बुढो हुनु भएको छैन, द्रव्य कोष जोडेर ८४-८५ उमेरको भएँ भन्न पाउनु हुन्न, तपाईँहरुले अझै धेरै सिक्नु छ ।’

यो समय पूँजी बजारलाई गति दिने र लगानीकर्ताको मनोबल बढाउने भएको बताउँदै अर्थमन्त्री खतिवडाले सेयर बजारमा खुलेर आउन र क्रियाशील भएर लाग्न आग्रह गरे । कर्मचारी सञ्चय कोष लगायत सार्वजनिक संस्थाहरुको भूमिका देशको पूर्वाधार विकासमा हुने बताउँदै उनले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष लगायतका संस्थाहरुले सेयर बजारमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।

दोस्रो बजारमा लगानीकर्ताको आकर्षण र मनोबल बढाउने यो उपर्युक्त समय भएको बताउँदै उनले मुलुकको आर्थिक बृद्धिदर बढाउनका लागि लगानी गर्न आग्रह गरे । व्यक्तिको बालापनदेखि बुढेसकालसम्मको उमेरलाई सामाजिक कोषले समेटेको बताउँदै उनले नागरिकको सुरक्षाका लागि दह्रो र शुसाशित भएर काम गर्न आग्रह गरे ।

सरकारी तथा निजी क्षेत्रबाट संञ्चालित सम्पूर्ण कोषको जोड्दा कुल ग्राहर्स्थ उत्पादनको २० प्रतिशत हुन आउने बताउँदै खतिवडाले भने– ‘यस्ता कोषको ठूलो रकम पूँजी बजारमा खर्च हुन्छ भने केही रकम मुद्रा बजारमा पनि हुन्छ।‘ उनले मुद्रा बजारमा केही समस्या आएपछि अनुशासनमा रहन निर्देशन दिएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.