चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनमा तीव्रता

  २०७६ भदौ ३१ गते १२:४०     विकासन्युज

डोटी । दशैं तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यहाँको बजार अनुगमनमा तीव्रता दिएको हो ।

दशैं तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले बजार अनुगमनमा कडाइ गरिएको उक्त कार्यालयका प्रमुख नारायण रावतले बताएका छन् । उनले भने, “हामीले अन्य समयमा पनि बजार अनुगमन त गर्ने गरेका छौँ तर अहिले दशैं तिहार आउँदै गरेकाले अखाद्य वस्तु बिक्री नहोस् भनेर बजार अनुगमनलाई अलि कडाइ गरेका हौँ ।”

यसरी, चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायत गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई अलि कडाइ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए । उनले भने, “कालोबजारी, मिसावटलगायत गतिविधि रोक्न बजार अनुगमनमा कडाइ गरिने निर्णय गरिएको छ, कालोबजारी गर्नेलाई कारवाही हुनेछ ।”

बजार अनुगमनका लागि उद्योग वाणिज्य सङ्घ, उपभोक्ता समिति, स्थानीय व्यापारी, प्रहरी तथा पत्रकारको टोली बनाइएको छ । टोलीले जिल्ला सदरमुकामका पसलमा मात्रै नभएर यहाँका ग्रामीण क्षेत्रका पसलमा कुनै पनि सामानको मूल्यमा एकरुपता भए नभएको, म्याद सकिएकोलगायत विषयमा अनुगमन गर्ने भएको छ ।

त्यसैगरी, जिल्लाका ग्रामीण क्षेत्रमा गैरकानूनी रुपमा बिक्री वितरण हुँदै आएको मदिरा तथा मदिराजन्य पदार्थ बेचविखनमा समेत कडाइ गरिने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.