बचत खातामै उच्च ब्याज दिँदै वाणिज्य बैंकहरु: आरबीबीले ४.५% प्रतिशत पुर्याउँदा ग्लोबल आईएमईले २% थप्यो

  २०७६ भदौ ३१ गते १०:४०     विकासन्युज

काठमाडौं । असोज महिना लागेसँगै बैंकहरुबीच फेरि निक्षेप तानातानको खेल सुरु हुने भएको छ । बजारमा लगानीयोग्य पुँजीको अभाव चर्कनसक्ने संकेत देखेसँगै निक्षेप तान्न र आफूसँग रहेको निक्षेप जोगाउन बैंकहरुको प्रतिस्पर्धा सुरु भएको हो ।

मंगलबार राष्ट्रिय स्तरका दुई ठूला वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याजदर बढाउनेगरी नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बचत निक्षेपमा दिने न्यूनतम ब्याजदरलाई ३.५ प्रतिशतबाट एकैपटक ४.५ प्रतिशतमा पुर्याइदिएको छ । गत जेठ महिनासम्म यो दर ३ प्रतिशत थियो ।

त्यस्तै, मंगलबार नै ग्लोबल आईएमई बैंकले बचत खातामा दिइने ब्याजदरको नयाँ तालिका सार्वजनिक गर्दै बचत खातामै प्रदान गरिने ब्याजदरलाई २ प्रतिशतसम्मले वृद्धि गरिदिएको छ । यसअघि ३.५० प्रतिशत दिने साधारण बचत, नारी बचत बाल बचत खाताहरुमा अब ५.५० प्रतिशतको दरमा ब्याज पाइनेछ ।

मंगलबार नै ब्याजदर प्रकाशन गरेको एनसीसी बैंकले भने यसअघिको ब्याजदरलाई स्थिर राखेको छ । नेपाल बैंकर्स संघको भद्र सहमतिअनुसार ६.५ प्रतिशत भन्दा बढी ब्याज दिन नपाइने र सो दरको ब्याज यसअघिदेखि नै दिँदै आएकोले एनसीसी बैंकले ब्याजदर नबढाएको हो ।

गण्डकी विकास बैंकले भने बचत खातामा दिने ब्याजदर यसअघि दिने दरभन्दा कम गरेको छ । यसअघि अधिकांश खाताहरुमा ७ प्रतिशत दिँदै आएको ब्याजदरलाई ६.५ प्रतिशतमा झारेको हो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले कायम गर्नुपर्ने पुँजी पर्याप्तता अनुपातको बफर बढाएपछि हाल केही वाणिज्य बैंकहरुमा लगानीयोग्य पुँजीको अभावको समस्या देखिएको बताइएको छ । दशैं, तिहार जस्ता चाडबाडमा नेपालीहरुले ठूलो रकम आफ्नै खल्तीमा होल्ड गर्ने भएका कारण यसले बैंकिङ निक्षेपलाई घटाउनसक्ने अनुमान बैंकरहरुको छ, यसले गर्दा यस्तो पुँजीको समस्या थप देखिनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.