पर्यटकको पर्खाइमा बौडेश्वर झरना, झण्डै तीन करोडको लागतमा बालमैत्री पार्क बन्दै

  २०७६ भदौ ३० गते १५:२४     सन्तोष रोकाया


काठमाडौँ । धुँवाधुलो र कोलाहलबाट एकछिन मुक्ति पाउन चाहनुहुन्छ ? यदि चाहानुहुन्छ भने तपाईँका लागि उपर्युक्त गन्तब्य बन्न सक्छ बौडेश्वर झरना ।

शामाखुसीचोकबाट करिब १० किलोमिटर दुरीमा रहेको बौडेश्वर झरना काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक पर्ने पर्यटकीय स्थल हो । साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको बौडेश्वर क्षेत्र हेर्दा मनमोहक मात्र होइन धार्मिक दृष्ट्रिकोणले पनि उतिकै चिरपरिचित छ ।

काठमाडौंको टोखा नगरपालिका १ झोरमा अवस्थित बौडेश्वर झरना पछिल्लो समय सबैको रोजाई बनेको छ । निश्चल, स्वच्छ र गडगडाहट छहराहरु छर्केर बहेको बौडेश्वर झरनाको सौन्दर्यतामा जो कोहि पनि मन्त्रमुग्ध हुन्छन् । प्राकृतिक संरचनामै यथावथ रहेको यो झरनाको मनोरञ्जन र आनन्द लिन दिनहुँ आन्तरिक र बाह्य पर्यटकहरुको चाप बढ्दै गएको छ ।

कर्मचारीहरु शनिबारे बिदा मनाउन होस्, साथीहरु मिलेर पिक्निक खान होस् वा परिवारजन धार्मिक संस्कार गर्नकै लागि भएपनि मानिसहरु मनोकाक्षां पुरा गर्ने विश्वासका साथ झोर पुग्ने गरेका छन् । बौडेश्वर पर्यटकिय क्षेत्रका रुपले मात्र होइन धार्मिक हिसावले पनि महत्वपूर्ण क्षेत्रका रुपले चिन्ने गरिन्छ । भगवान महादेवको शक्ति पिठका रुपमा लिएको बौडेश्वरमा मानिसहरु ब्रतबन्ध, विवाह र धार्मिक कार्यका लागि पनि पुग्ने गर्दछन् ।

मनमोहक र सुन्दर झरनाको छेउमै एउटा अलौकिक गुफा पनि छ । जसभित्र छिरे भगवान महादेवलाई मागेको बर पाइने धार्मिक विश्वास रहि आएको छ । गुफा भित्र भगवान महादेवको मन्दिर पनि छ । हिँउदको समयमा भन्दा पनि बर्खायाममा बढि पर्यटकहरु बौडेश्वरमा पुग्ने गरेको एक स्थानियले बताए । ‘हिउँदमा पानी अलि कम हुने गरेको छ’, उनले भने,बर्खामा पानी बढि भएका कारण पर्यटकहरु पानी सँग रमाउन बढि आउने गर्दछन् ।’ यो समय पर्यटकका लागि बौडेश्वर उचित पर्यटकिय स्थल हो । काठमाडौं कोलाहल र धुलोधुवाँबाट छुट्कारा पाउन अहिले बौडेश्वरमा जाने मानिसहरुको भिँड लाग्ने गरेको छ ।

२४ करोडको बौडेश्वर गुरुयोजना तयार
टोखा नगरपालिकाले झोर क्षेत्रको पूर्वाधार विकासका लागि २४ करोड ६७ लाख ९२ हजारको गुरुयोजना तयार पारेको छ । बौडेश्वर क्षेत्रमा पर्यटकहरुको आकर्षित गन्तब्य बनाउनका लािग नगरपालिकाले सो रकमको गुरुयोजना तयार पारेको बताएको हो ।

नगरपालिकाले गुरुयोजनामा मनोरञ्जनपार्क, मन्दिर, रक क्लाइम्बिङ, पिक्निक स्पोट्स र फुटवल ग्राउण्ड निर्माण गर्ने गुरुयोजनामा उल्लेख गरेको छ । बौडेश्वर क्षेत्रमा सडक स्तरोन्नतीका लागि ३ करोड, झरनाको ड्याम निर्माणका लागि १ करोड, मनोरञ्जनात्मक पार्क,पिक्निक स्पोट र रक कलाइम्बिङका लागि ५ करोड, झुलुङ्गे पुलका लागि ३ करोड, खेलकुद संरचनाका लागि ३ करोड र बालमैन्त्री पार्क नजिकै अन्य संरचनाहरुका लागि २ करोड ५० लाख रुपैयाँ लागत लाग्ने गुरुयोजनामा उल्लेख गरिएको छ ।

नगरपालिकामा यी संरचनाहरु निर्माण भएपछि बौडेश्वर क्षेत्रको विकास र पर्यटक भित्र्याउन उल्लेख्य भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ । नगरपालिकाले प्रथम चरणमा बालमैत्री पार्क, दित्तिय चरणमा पिक्निक स्पोटस्, तेस्रो चरणमा मनोरज्नात्मक पार्क, चौथो चरणमा झुलुङ्गे पुल र रक कलाइम्बिङ र पाँचौं चरणमा बाँकी र छुटपुटका कामहरु गर्ने गुरुयोजनामा उल्लेख गरिएको छ ।

२ करोडको लागतमा बालमैत्री पार्क बन्दै
टोखा नगरपालिकाले २ करोड ७६ लाख ७५ हजारको लागतमा बालमैत्री पार्क निर्माण शुरु गरेको छ । बौडेश्वर गुरुयोजना अन्तर्गत पहिलो चरणको काममा पर्ने बालमैत्री पार्कको निर्माण कार्य शुरु गरेको नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरसभाबाट प्रत्येक वडामा उद्यान निर्माण गर्ने योजना रहेको बताउँदै वडा न १ बाट बालमैत्री पार्कको निर्माणे शुरु गरिएको बताए । यसरी ठाउँठाउँमा उद्यान निर्माण गर्नाले सौन्दर्यतासँगै सार्वजनिक जग्गाको संरक्षणमा समेत टेवा पुग्ने उनको भनाई छ ।

चार रोपनी जग्गामा निर्माणाधीन पार्कमा टोखा नगरपालिका, काठमाडौं महानगरपालिका र अर्थ मन्त्रालयको लगानी रहेको जनाइएको छ । साईट इञ्जिनियर रुद्रनाथ आचार्यले ३ करोड ८४ लाख अनुमानित रकम भएपनि माथि उल्लेखित रकममा पार्क बनाउन शुरु गरिएको बताए । उनले बौडेश्वरमा प्राकृतिक झरना मात्र भएकोले पर्यटकहरुलाई भुलाउन र मनोरञ्जन गराउनको माध्यमका रुपमा पार्कले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘काठमाडौंमा पर्यटकका लागि निशासिने अवस्था छ’, उनले भने, बौडेश्वर प्राकृतिक सुन्दरताले रमणिय भएकोले पर्यटकको सहजताका लागि भौतिक पूर्वाधारका संरचनाहरु निर्माण गर्न शुरु गरिएको बताए । श्रृंखला निर्माण सेवाले पार्कको निर्माणको ठेक्का लिएको छ । पाकको निर्माण कार्य चालु आर्थिक वर्षको असार सम्म सक्ने लक्ष्य लिएको छ ।

नगरपालिकाको झोरमा अवस्थित बौडेश्वर क्षेत्र प्राकृतिक रुपमा मात्र होइन साँस्कृतिक र धार्मिक रुपले पनि भरिपूर्ण छ । सरकारले बौडेश्वरलाई उचित प्राथमिकताका साथ भौतिक संरचनाहरु निर्माण गरे पर्यटकहरुको आकर्षण बढ्ने कुरामा दुईमत छैन । सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्यायने लक्ष्यलाई सहयोग गर्न पनि बौडेश्वरले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.