प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प, सयौँ पर्यटक लुक्लामै अलपत्र

  २०७६ भदौ ३० गते ११:२५     विकासन्युज

सोलुखुम्बु । तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करिब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।त्यस्तै, शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरण प्रमुख अधिकारीले बताए ।

आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ । निश्चित समय तालिका मिलाएर आएका पर्यटक बढी मारमा परेका छन् । सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकले सबैभन्दा बढी हवाई सेवा प्रयोग गर्छन् ।

खुम्बु क्षेत्रसम्म सडक पहुँच नपुगेका कारण पनि यात्रुका लागि हवाइजहाजको विकल्प कम हुन्छ । एक दिनको पैदलयात्रा पछि मात्र सडक मार्ग प्रयोग गर्न सकिने भए पनि बर्खाको समयमा करिब दुई दिनको पैदल हिँड्नु पर्नेहुन्छ । विमानस्थलमा हवाइजहाज नभए हेलिकप्टर प्रयोग गर्न सकिने भए पनि बाक्लो हुस्सुका कारण थप समस्या भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपाल भ्रमणमा आउने पर्यटकको एक प्रमुख गन्तव्य सगरमाथा क्षेत्र पर्छ । त्यसैले यो मौसममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आउने पर्यटकको चाप अत्याधिक हुन्छ । सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा यो बेला मौसम अनुकूल हुँदा दैनिक ३०० भन्दा बढीसम्म पर्यटक आउने गर्छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.