सिटिजन्स बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत समिर दाहालले देश छाडे

  २०७६ भदौ २९ गते २०:१९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेशनल लिको सहायक कम्पनी सि.वि.आई.एल क्यापिटलले आइतबार प्रेस विज्ञप्ती जारी गर्यो र भन्यो–यस संस्थाको अध्यक्ष रहेका समिर प्रसाद दाहालले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिनु भएको कारण संस्थाको रिक्त रहन गएको अध्यक्ष पदमा संस्थाका संचालक पारस कुमार काफ्लेलाई बाकी अवधि सम्मका लागि अध्यक्षमा नियुक्ति गरेको छ ।

औपचारिक विज्ञप्तीमा नखुलाइएको तथ्य के हो भने उनले मातृ संस्था सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत पद पनि त्यागेका छन् । उनले एउटा कम्पनीको अध्यक्ष र वाणिज्य बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पद मात्र त्यागेनन्, देश नै छोडेका छन् । स्रोतका अनुसार उनी नेपाल छोडेर सपरिवार क्यानडा बसाई सरेका छन् ।

‘सिटिजन्स बैंक स्थापनादेखि समिर यस बैंकमा आवद्ध थिए । सिविआईएल क्यापिटल स्थापनादेखि नै उनी प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । सिटिजन्स बैंक र सिविआईएल दुबै संस्थामा उनको योगदान राम्रो थियो । उनले गरेको योगदानप्रति म धन्यवाद भन्न चाहान्छु’ सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विकासन्युजसँग भने ।

करिव १७ वर्ष बैंकिङ्ग क्षेत्रमा विताएका र स्थापित बैंकको दोस्रो ठूलो जिम्मेवारी समालेका समिर दाहाल चार्टर एकाउन्टेन्ट पनि हुन् । उनी त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका थिए ।

उनले दुई महिनाअघि  बैंकमा घर विदा लिएका थिए । त्यतिखेरा नै उनी क्यानडा गएका थिए । उनले उतैबाट बैंक र सि.वि.आइएल क्यापिटललाई राजीनामा पत्र इमेल गरेका हुन् । चार्टर एकान्टेन्टका लागि क्यानडामा धेरै राम्रो अवसर भएकोले पनि उनी नेपाल नफर्केने निर्णयमा पुगेको हुन सक्ने बताइएको छ ।

समिर जत्तिको क्षमतावान व्यक्तिले किन नेपाल छोडे ? किन उनले आफू र आफ्नो परिवारको भविष्य नेपालमा भन्दा क्यानडामा राम्रो देखे ? त्यो त उनले नै बताउने विषय भयो । तर समिर जस्तै नेपालको भविष्यप्रति निराश भएर विकसित देशमा बसाई सर्ने क्षमतावान युवा पुस्ताप्रति नेपाल सरकारले कहिले सोच्ने ? यो देशका नीति निर्माता तथा शासक वर्गले सोच्नुपर्ने भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.