उज्याला कुलमान र उनको तीन वर्षे कार्यकाल

  २०७६ भदौ २९ गते १७:५३     विकासन्युज

काठमाडौं । नेपालमा लोडसेडिङ मुक्त गर्ने चर्चित नाम हो कुलमान घिसिङ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेर उनले काम गरेको तीन वर्ष पुरा भएको छ । प्राधिकरणको जिम्मेवारी सम्हाल्दा वर्षामा ८ घण्टा र हिउँदमा १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने अवस्था थियो । अहिले लोडसेडिङ अन्त्य गर्ने एक आइडलका रुपमा उनलाई लिने गरिन्छ ।

रामेछापको दुर्गम सरकारी विद्यालयबाट प्राथामिक तह अध्ययन गरेका सामान्य परिवारका घिसिङ अहिले सवत्र चर्चामा छन् । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियान्ता कुलमान घिसिङलाई उज्याला कुलमान भनेर पनि भन्न थालिएको छ ।

आइतवार आफ्नो तीन वर्षे कार्यकालका काम गतिविधि र अनुभवहरुको फेरेहस्त सुनाउँदै उनले सबैको साथ सहयोग प्रेरणाले नेपाललाई लोडसेडिङबाट मुक्त गराउन सफल भएको बताए । ‘यो उपलब्धि मेरो सानैदेखिको मेहनतले साकार भएको हो ।’ विकासन्युजकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले भारतको जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर गरेपछि २०५१ तिर स्वदेश फर्केँ, त्यस लगत्तै नेपाल विद्युत प्राधिकरणको सातौं तहको इन्जिनियरको जागिरे बनेँ ।’ सरकारी जागिरमा प्रवेश सँगै विभिन्न पदमा रहेर काम गरेको उनी बताउँछन् ।

आज भन्दा तीन वर्ष अगाडि उनी प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुँदा धेरैले विरोध नगरेका होइनन् । तर पछि राम्रो काम गर्दै गएपछि उनको चर्चा एकाएक चुलियो । उनि भन्छन्, ‘यो मेरो लागि यो हट सीट हो ।’

तीन वर्षमा के–के गरे ?

नेपाल विद्युत प्राधिकरणको तीन वर्षे कार्यकालमा उनले उल्लेख्य प्रगति र उपलब्धि हाँसिल गरेका छन् । मुलुकले ब्यहोर्नु परेको लोडसेडिङ प्रणालीलाई अन्त्य गर्दै प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन,, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तिय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाईन र सबस्टेसन विस्तार गर्न र संस्थागत सुधार गर्दै नाफा कमाउनमा उनले महत्वपूर्ण योगदान गरेका छन् ।

तीन वर्ष अघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिव १५० युनिट रहेकोमा अहिले नियमित विद्युत आपुर्ति हुन थालेपछि बढेर करिव २४५ युनिट पुगेको छ । आर्थिक वर्ष २०७२/०७३ मा ८ अर्ब खुद नोक्सानीमा रहेको प्राधिकरणले आव २०७३/०७४ मा १ अर्ब ४७ करोड, आव २०७४/०७५ मा २ अर्ब ८५ करोड र आव २०७५/०७६ मा ७ अर्ब २० करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनासकारी भूकम्पपछि निर्माण शुरु हुन नसकेका ६० मेगावाटको त्रिसुली ३ ए जलविद्युत् आयोजना र प्राधिकरणको १०४ मेगावाट र निजी उत्पादकहरुको २७१ मेगावाट गरी ३७५ मेगावाट जलविद्युत आयोजनाहरु सञ्चालनमा आएको बताए ।

यस्तै प्रसारण क्षेत्रमा आव २०७२/०७३ सम्ममा विद्युत प्रसारण लाइनको संजाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९० सर्किट किलोमिटर पुगेको उल्लेख गरिएको छ । उनको तीन वर्षीय कार्यकालमा नयाँ निर्माण तथा स्तरोन्नती गरी १७१२ एमभीए क्षमताका प्रसारण सबस्टेसन थप गरिएको जनाइएको छ । हाल सम्म ७८ प्रतिशत जनतामाझ ग्रिडमा आवद्ध गर्नुका साथसाथै ग्राहकले विद्युत महशुल तिर्न कार्यालयमै जानु पर्ने अवस्थालाई अन्त्य गर्न अनलाईन पेमेन्ट सुरु गरिएको उनले बताए ।

तीन वर्ष भित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले ७ अर्ब थप आम्दानी गरेको उनले बताए । विद्युत व्यापार अन्तर्गत नीजि क्षेत्रका ३४० आयोजनाहरु सँग ५ हजार ४४ मेगावाटको विद्युत खरिद सम्झौता (पीपीए) भएको छ ।

के छन् आगामी योजना ?

कार्यकारी निर्देशक घिसिङले विगतमा लोडसेडिङ अन्त्य गर्न मुख्य ध्यान केन्द्रित गरेको प्राधिकरणले अब ग्राहकको सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सोही अनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेसनको सुदृढिकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाइने बताए ।

आगामी योजना अन्तर्गत संस्थाको सुशासन, विकास, विद्युत वितरण तथा विद्युतीकरण, माग व्यवस्थापन, चुहावट नियन्त्रण, उत्पादन, प्रसारण र विद्युत व्यापारमा आफ्नो ध्यान केन्द्रीत रहने उनले बताए । उनले विद्युतमा स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामा जस्तै स्वचालित विलिङ लागु गर्ने, प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधरणका लागि निस्काशन गर्न आवश्यक पहल गर्ने, प्राधिकरण होल्डिङ संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमा स्वायत्त प्रदेश विद्युत वितरण संस्था खोलिने बताइएको छ ।

उनले आगामी दश वर्षमा दश हजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवम् स्तरोन्नती गरिने, विद्युतिय यातायातका लागि चाजिङ स्टेशन स्थापना, चालु आवमा विद्युत चुहावटलाई १२ प्रतिशतमा झार्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन अघि बढाएको बताए ।

यस्तै प्राधिकरणले भारतका उर्जा सँग सम्बन्धित विभिन्न निकायसँग छलफल गरी नेपाल भारतबीचको डे अहेड र टर्म अहेड विद्युत बजार मार्फत विद्युत व्यापार गर्न एनटीपीसी विद्युत व्यापार निगमसँग सम्झौता सम्पन्न गरी भविष्यमा कारोबार शुरु गरिने लगायतका योजना तथा कार्यक्रमहरु रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.