एक नम्बर बन्ने अभियानमा प्राइम कमर्शियल बैंक, कन्काई गाभियो, ‘समृद्धिमा ४ पिल्लर महत्वपूर्ण’

  २०७६ भदौ २९ गते ११:१२     विकासन्युज

काठमाडौं । २२ अर्ब चुक्ता पुँजी पुर्याएर देशकै ठूलो बैंक बन्ने लक्ष्यसहित अघि बढेको प्राइम कमर्शियल बैंकले पूर्वी नेपालको उत्कृष्ट मानिने कन्काई विकास बैंकलाई आफूमा विलय गराएको छ । आईतबार प्राइम कमर्शियल बैंकको केन्द्रीय कार्यालयमा आयोजित एकीकृत कारोबार समारोह गर्दै प्राइमले कन्काईलाई औपचारिक रुपमा आफूमा विलय गरेको घोषणा गरेको हो ।

हाल ९ अर्ब ३१ करोड रुपैंया शेयर पुँजी भएको प्राइम कमर्शियल बैंकले ५१ करोड ५० लाख रुपैंया रहेको कन्काई विकास बैंकलाई १०० रुपैंया बराबर ७१ रुपैंया स्वाप रेसियो दिएर गाभेको हो । योसँगै बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैंया पुगेको छ ।

बैंकले राष्ट्रियस्तरको कैलाश विकास बैंक र ललितपुर फाइनान्सलाई पनि आफूमा गाभ्ने सम्झौता गरिसकेको छ । प्राइमले कैलाशलाई १०० रुपैंया बराबर ९४ रुपैंया र १०० रुपैंया र ललितपुर फाइनान्सलाइ १०० बराबर २० रुपैंया दिएर आफूमा गाभ्न लागेको हो । प्राइमले यसअघि नै अधिकृत पुँजी २२ अर्ब कायम गरिसकेको छ । सो सीमाभित्र पुँजी विस्तार गर्न बैंकले विभिन्न वित्तीय संस्थाहरु आफूमा गाभ्ने नीति लिँदै आएको छ ।

मर्जसँगै बैंककाे निक्षेप ८८ अर्ब ३ कराेड, कर्जा ८० अर्ब २८ कराेड रूपैयाँ भएकाे छ भने शाखा संख्या ९५ वटा भएकाे छ । हाल प्राइम बैंकमा करिब १५०० कर्मचारीहरु कार्यरत छन् ।

नम्बर वान बन्ने लक्ष्य, ४ ओटा आधार

आइतबार आयोजित एकीकृत कारोबार समारोहमा प्राइम कमर्शियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्राइम बैंक देशकै नम्बरवान वाणिज्य बैंक बन्ने घोषणा गरे । कैलाश र ललितपुर फाइनान्सलाई गाभेपछि १२ अर्ब चुक्ता पुँजी र १८ अर्बको प्राथमिक पुँजी पुग्ने र त्यसपछि बैंकले आकार र गुणस्तर दुवैका आधारमा नेपालकै नम्बरवान वाणिज्य बैंक बन्ने दिशामा आफूलाई केन्द्रित गर्ने घोषणा समेत श्रेष्ठले गरे ।

उनले त्यसका लागि बैंकका ४ ओटै खम्बाहरुलाई उत्तिकै महत्व दिएर अघि बढ्ने समेत बताए । ‘कुनै पनि बैंकका ४ खम्बाहरु भनेको निक्षेपकर्ता, ऋणी, शेयरधनी र कर्मचारीहरु नै हुन्, यी सबैका हितहरुलाई केन्द्रमा राखेर अघि बढ्छौं’ उनले भने । कन्काईलाई मर्ज गर्दा पूर्वी नेपालका जिल्लाहरुमा बैंकको पहुँच निकै बढ्ने विश्वास समेत उनले गरे ।

कन्काई, कैलाश र ललितपुरलाई समेत गाभेपछि ती संस्थाका कर्मचारीहरुको वृत्ति र क्षमता विकासमा उत्तिकै ध्यान दिँदै उनीहरुको क्षमतालाई बैंङ्कको प्रगतिका निम्ति सदुपयोग गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.