कहाँ पुग्यो ग्लोबल आईएमई र जनताको मर्जर ? स्वाप रेसियो र कर्मचारी व्यवस्थापनबारे यस्तो हुँदैछ प्रगति

  २०७६ भदौ २७ गते ११:२९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको वाणिज्य बैंकहरूको मर्जर नीतिलाई कार्यान्वयनमा लगेको हालसम्मको पहिलो र एकमात्र ग्लोबल आईएमई र जनता बैंकको मर्जर प्रक्रिया मंसिरसम्म टुंगिने भएको छ । ग्लोबल आईएमई बैंक र जनता बैंकले आगामी मंसिर १५ गतेसम्म एकीकृत कारोबार गरिसक्ने तालिका बनाएका छन् ।

गत असार २० गत दुबै बैंकका अध्यक्षहरूले मर्ज गर्न सहमती पत्रमा हस्ताक्षर गरेका थिए । अहिले दुबै बैंकको ड्यू डेलिजेन्स अडिट (डीडीए) भइरहेको छ । ग्लोबल आईएममी बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पर्शुराम कुँवर क्षेत्रीले अहिले दुबै बैंकको डीडीए भइरहेको बताए । ‘ रिपोर्ट आएपछि यस विषयमा छलफल गरी एकीकृत कारोबारकाे स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिने तयारी बैंकहरूले गरेका छन् ।

‘भदौ अन्तिम तथा असोज पहिलो सातासम्म डीडीए रिपोर्ट आउँछ,’ सिईओ क्षेत्रीले भने ‘हामीले सहमतिपछि एकीकृत कारोबार गर्न आवश्यक प्रक्रियामा काम गरिहेका छौं ।’ मर्जरले साधारणसभा र बैंकको ब्यालेन्स सिट स्वीकृत गर्ने वार्षिक साधारण सभा एकै पटक गर्ने सहमति भएको छ । त्यसका लागि बैंकको ब्यालेन्स सिट बनाएर राष्ट्र बैंकमा पठाएका छौं । केही दिनमा राष्ट्र बैंकले बैकको वित्तीय विवरण पास गर्नेछ ।

राष्ट्र बैंकले आसय पत्र (एलओआई) दिएपछि सेयर स्वाप रेसियो, कर्मचारी व्यवस्थापन र प्राविधिक विषयमा छलफल गरी टुंगाइने छ । यो काम सम्पन्न भएपछि साधारणसभा बोलाउँछौं,’ सिईओ क्षेत्रीले भने ‘सोही साधारण सभाले डीडीए रिपोर्ट र २०७५÷७६ वित्तीय विवरण र मर्जरको विषय दुबै स्वीकृत गर्छ ।’ त्यसपछि दुई बैंकबीच अन्तिम सम्झौता हुन्छ र अन्तिम स्वीकृतका लागि यो सम्झौता राष्ट्र बैंक पठाइन्छ ।

‘हामीले राष्ट्र बैंकबाट एकीकृत कारोबार गर्ने अन्तिम स्वीकृती लिनको लागि १० दिनको समयावधि छुट्याएका छौं, उनले थपे ‘सोही मितिभित्र राष्ट्र बैंकले अन्तिम स्वीकृत दिए हामी मंसिर १५ सम्म एकीकृत कारोबारमा गइसक्ने छौं ।’ राष्ट्र बैंकले बिग मर्जर गर्न फोर्स गरिरहेका बेला असार २० गते दुबै बैंकले मर्जर पत्रमा हस्ताक्षर गरेका थिए । सहमतिको बेला ग्लोबल आईएमईको एक सय रुपैयाँ बराबर जनता बैंकको सेयरलाई ८५ रुपैयाँ दिने गरी प्रारम्भिक समझदारी भएको थियो ।

बैंकहरू मर्जरमा जाने सहमति भएपछि नेपाल स्टक एक्सचेञ्जमा कारोबार भईरहेको ग्लोबल आइएमई र जनता बैंक दुबैको सेयर कारोबार रोक्का गरिएको छ । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गरी यहि भदौ १८ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.