नेपालको सर्वोत्कृष्ट कलेज बन्न सफल भयाे नेपाल इन्जिनियरिंग कलेज

२०७६ भदौ २६ गते १६:५५ विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियरिंग परिषद्ले भक्तपुरको दुवाकोट चाँंगुनारायणस्थित नेपाल इन्जिनियरिंग कलेज (नेक) लाई इन्जिनियरिंगको पढाई हुने नेपालकै पहिलो सर्वाेत्त्कृष्ट कलेजको रुपमा घोषणा गरिदिएको छ । परिषद्को मूल्यांकनमा स्थायी मान्यताको स्वीकृतिलाई निरन्तरता प्रदान गरेर नेक सर्वाेत्कृष्ट कलेज घोषित भएको हो ।

परिषद्को पछिल्लो अनुगमन तथा मूल्यांकनमा गैरनाफामुलक सामाजिक संस्थाको रुपमा सञ्चालित नेपाल इन्जिनियरिंग कलेज अव्वल देखाएको हो । कुल एक सय नम्वरमा कम्तीमा ९० नम्वर ल्याउन सके मात्रै परिषद्ले स्थायी स्वीकृति दिने प्रावधान छ ।

सम्वन्धन प्राप्त इन्जिनियरिंग कलेजहरुमध्ये अहिलेसम्म नेपाल इन्जिनियरिंग कलेजले मात्रै स्थायी स्वीकृति पाउन सकेको नेपाल इन्जिनियरिंग परिषद्ले जनाएको छ । त्यसका लागि परिषद्ले अनुगमन तथा मल्यांकन टोली पठाई कलेजको मूल्यांकन गर्ने गर्दछ ।

नेपाल इन्जिनियरिग कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजको नियमित अनुगमन गरी दिइएको प्रतिवेदन परिषदको मिति २०७६ भदौ २२ गतेको बैठकमा पेश गरी छलफल हुँंदा कलेजलाई परिषद्बाट दिइएको स्थायी स्वीकृतिको मान्यतालाई निरन्तरता प्रदान गर्ने निर्णय भएको जानकारी गराए ।

कलेजमा वीई सिभिलमा एक सय ४४, विई सिभिल फर डिप्लोमा होल्डर्समा ४८, विई कम्प्युटरमा ९६, विई इलेक्टोनिक्स एण्ड कम्युनिकेशनमा ९६, विई इलेक्टिकल एण्ड इलेक्टोनिक्समा ४८, विई आर्किटेक्चरसमा ४८, विई आइटीमा ४८र विई सिभिल ०डड रुरलमा ४८ जना विद्यार्थी भर्ना क्षमता रहेको छ ।