सङ्घद्वारा कोटेश्वरका यातायात मजदुरलाई पोशाक वितरण

  २०७६ भदौ २६ गते १३:२८     विकासन्युज

काठमाडौं । कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घले आज एक कार्यक्रम गरी यात्रुमैत्री वातावरण निर्माणका लागि त्यस क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेमा जोड दिएका छन् । परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने र यसले उनीहरूको जिम्मेवारी बढ्ने उनको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्र सुधारका लागि परिचयपत्र र पोशाकले सहयोग पुर्याउने अपेक्षा गरेका छन् ।

पोशाक र परिचयपत्रको शुरुआतसँगै यात्रुले कसलाई बस भाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योल हट्ने उनले बताए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन यातायात मजदूरको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

अखिल नेपाल यातायात मजदूर सङ्घका केन्द्रीय अध्यक्ष सोम तामाङले सरकारले कोटेश्वर क्षेत्रमा हुने ट्राफिक जाम हटाउन विशेष पहल गर्नुपर्नेमा जोड दिए। उक्त सङ्घले ट्राफिक प्रहरीको सहकार्यमा यसअघि नयाँ बसपार्क र कलङ्की क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिसकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.