फेरि लगानीयोग्य पूँजी अभावमा बैंकहरू, ‘भदौपछि कर्जा दिने पैसा नहुन सक्छ’

२०७६ भदौ २५ गते १७:१२ विकासन्युज

काठमाडौं । ३ वर्षदेखि जटिल समस्याको रुपमा रहेको लगानीयोग्य पूँजी(तरलता) अभाव यस वर्ष पनि देखिने भएको छ । बैंकरहरुले बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपभन्दा कर्जाको चाप बढ्न थालेपछि पुनः असोज लागेपछि  अघिल्ला वर्षको जस्तै समस्या बल्झिने संकेत गरेका हुन् ।

चालु आवको शुरु देखिनै निक्षेप संकलनको तुलनामा कर्जा बढी  प्रवाह भएको छ । साउनमा वाणिज्य बैंकहरूको निक्षेप २३ अर्बले घटेको छ भने ९ अर्ब कर्जा लगानी भएको छ । भदौ १३ गतेसम्म दुई अर्ब रुपैयाँमात्रै निक्षेप संकलन भएको छ भने २१ अर्ब कर्जा प्रवाह भएको छ ।

यसले वित्तीय बजारमा फेरि लगानी योग्य पूँजी अभाव हुन सक्ने सम्भावना बढेको बैंकरहरुको बुझाइ छ । गत आवको अन्त्यमा निक्षेप बढेपनि बढेको निक्षेपले यहि महिनासम्म पनि धान्न नसकेकाे अवस्था  छ ।  वाँकी महिनामा यहि रेसियोमा मात्रै निक्षेप संकलन हुने हो भने आगामी असोज महिनादेखि नै लगानीयोग्य पूँजी अभाव हुने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।

गत आवको अन्त्यमा भएको निक्षेप संकलनले असोजपछिको कर्जा मागलाई धान्न सक्दैन,’ उनले भने-‘भदौ आधासम्म २१ अर्ब लगानी भइसक्यो, अब बैंकहरूसँग भएको तरलताले कर्जा मागलाई धान्न सक्दैन ।’ राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ३० अर्बको तरलता रहेको छ ।

अहिलेसम्म सहजै छ, अप्ठ्यारो परिहालेको छैन । असोज लागेपछि फेरि अप्ठ्यारो पर्ने देखिएको छ-दाहालले बताए । नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष तथा नेपाल बंगलादेशका सिईओ ज्ञानेन्द्र ढुंगानाले पछि के हुन्छ भन्ने कुरा अहिले भन्न नसकिने बताए । ‘हामी सहज अवस्थामा छौं,’ उनले भने-‘ एक/दुई वटा बैंकमा अप्ठ्यारो पर्यो भन्दैमा असहज छ भन्न मिल्दैन ।’ आर्थिक क्रियाकलाप बढ्न थालेपछि कर्जाको माग अझ बढ्न सक्छ । कर्जा मागको अनुपातमा निक्षेप बढेन भने त्यति बेला सोच्नु पर्ने हुन्छ ।’

अहिले बैंकहरूको अन्तर बैंक कारोबार ब्याजदर २ प्रतिशत रहेको छ । ‘यसको संकेत भनेको बजारमा तरलता पर्याप्त भएको अवस्था बुझिने राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि उक्लन थालेपछि तरलता अभावको चाप होकि भन्ने संकेत गर्न सकिन्छ, ’ उनी भन्छन्- ‘बजार हो अहिले केही भन्न सक्ने अवस्था छैन ।’ आर्थिक क्रियाकलापले कर्जाकोमात्र माग नहेरी खर्चको पक्षलाई पनि हेरिनुपर्छ ।’ बजारमा पैसा आउन पनि सक्छ, नआउन पनि सक्छ ।