महालक्ष्मी नगरपालिकाको लक्ष्य अनुसार भएन राजश्व सङ्कलन

  २०७६ भदौ २४ गते १३:५८     विकासन्युज

ललितपुर । महालक्ष्मी नगरपालिकाको आव २०७५ ०७६मा लक्ष्य अुनसारको राजश्व सङ्कलनमा कमी आएको छ । नगरपालिकाका कर्मचारीले आफ्नो क्षेत्रको अनुगमन, निरीक्षण र जनचेतना फैलाउने काममा ढिलाइ गरेका कारण अपेक्षा गरेअनुरुपको राजश्व सङ्कलन गर्न नसकिएको बताइएको छ ।

गत आवमा रु १९ करोड ८७ लाख १४ हजार राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु नौ करोड ८४ लाख ९४ हजार राजश्व सङ्कलन भएको लेखा अघिकृत शिवकुमार घिमिरेले जानकारी दिएका छन् । उनले भने, “यस क्षेत्रमा ढुङ्गा तथा बालुवा खानी, इँटाभट्टालगायत आयआर्जनको स्रोत नभएका कारण नगरपालिकाले अपेक्षा गरेअनुरुपको राजश्व सङ्कलन हुन नसकेपनि चालू आवमा सो कुरालाई दृष्टिगत गर्दै मर्यादित तरिकाबाट राजश्व सङ्कलन गर्ने योजना अघि बढाएको छ। ”

उक्त नगरपालिकाका अनुसार अन्य शीर्षकमा रु सात करोड ४५ लाख ३७ हजार राजश्व सङ्कलन गर्ने अनुमान गरिएकामा केवल रु दुई लाख ८२ हजार ५१० सङ्कलन भएको थियो भने नक्सापास दस्तुरबाट रु पाँच करोड ५० लाख राजश्व उठाउने अनुमान गरिएकामा रु चार करोड ९० लाख ६८ हजार ६८० सङ्कलन भएको थियो ।

व्यक्तिगत सम्पत्तिमा लाग्ने वार्षिक करतर्फ नगरपालिकाले रु दुई करोड ४४ लाख ४७ हजार उठाउने लक्ष्य लिइएकामा रु २८ हजार उठेको छ भने सिफारिश दस्तुरतर्फ रु दुई करोड राजश्व उठाउने अनुमान गरिएकामा रु एक करोड ७९ लाख ५५ हजार १३८ उठेको छ ।

प्रदूषण नियन्त्रण शुल्कतर्फ रु २५ लाख, पार्किङ शुल्क रु एक लाख, अन्य प्रशासनिक सेवा शुल्क रु तीन लाख, सेवामूलक निकायबाट प्राप्त लाभांश रु २० हजार, कृषि तथा पशुपक्षी कारोवारमा रु दुई लाख, स्वास्थ्य सेवा कर बापत रु पाँच लाख र घर बहाल करबापत रु ५० हजार उठाउने अनुमान गरिएकामा एक रुपैयाँ पनि सङ्कलन नभएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.