२०७६ भदौ २४ गते १४:०४ विकासन्युज
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अब शेयर कारोबार र राफसाफमा लाग्दै आएको मूल्य घटाउनुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अधिकारीसँग अर्थमन्त्री खतिवडाले अब त्यस्तो लागत घटाउनुपर्ने बताएका हुन् ।
मंगलबार राजधानीमा सुरु भएको एशिया प्यासिफिक राष्ट्रहरुको केन्द्रीय निक्षेप प्रणाली र राफसाफसम्बन्धी सेवा प्रदायकहरुको संस्था एशिया प्यासिफिक सेन्ट्रल डिपोजिटरी ग्रुपको २३ औं साधारणसभामा अर्थमन्त्री खतिवडाले स्टक बजार र डिपोजिटरी र क्लियरिङ एजेन्टहरुले शुल्क घटाएर बजारमा तरलता प्रवाहमा सहजीकरण गर्नुपर्ने बताएका हुन् ।
देशको उत्पादकत्व बढाउन पुँजी बढाउने र उत्पादकत्व बढाउने विकल्प भएको भन्दै उनले बजारको पुँजी र उत्पादकत्व बढाउन स्रोतहरुको मोबिलाइजेसन हुनुपर्ने र यो जति छिटो भयो स्रोत धेरै जुट्ने समेत बताए ।
‘पुँजीबजारको लागत कम हुँदा लगानीकर्ताहरुलाई बजारमा थप सक्रिय बनाउँछ, यसले गर्दा बजारको कारोबार पनि बढ्छ यसले गर्दा बजारको तरलतालाई सहज गर्न मद्दत गर्छ, केन्द्रीय बैंकलाई सिस्टममा थप मुद्रा प्रवाह गर्ने वाध्यता पनि हुँदैन ।’ उनले भने ।
खतिवडाले पुँजीबजारमा नयाँ जमानाका लगानीकर्ताहरु स्मार्ट रहेको र उनीहरुले नयाँ प्रविधिलाई आत्मसात गर्दै गएको अवस्थामा नयाँ टेक्लोलोजीहरुको प्रयोग गर्दै जानुपर्ने समेत बताए ।
उनले बजारमा स्रोत संकलनको माध्यम ऋण बजार र इक्विटी बजार भएको भन्दै सरकारले दुुवै किसिमका बजारहरुलाई उत्तिकै महत्व दिएको बताए । ‘ऋण बजारलाई बैंकले हेर्छ, इक्विटी बजारलाई पुँजीबजारले हेर्छ, हामी दुबै बजारलाई उत्तिकै महत्व दिन्छौं’ उनले भने ।
अर्थमन्त्री खतिवडाले अब सरकारी बण्डहरुलाई पनि अभौतिकीकरण गर्ने घोषणा समेत गरे । उनले कृतिम बजार घटनाले बजारको डाइनामिक्स परिवर्तन गर्न नसकोस् भन्नेमा समेत सचेत हनुपर्ने समेत बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.