बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन परियोजनाको आज उद्घाटन हुने

२०७६ भदौ २४ गते ९:०२ विकासन्युज

अमलेखगञ्ज । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियप पाइप लाइन परियोजनाको मङ्गलबार अपराह्न १२ः१५ मा उद्घाटन गरिँदैछ ।

भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गर्नेछन् ।

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रने छ । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ । मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ ।

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ ।

पाइपलाइन परियोजना उद्घाटनको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूर्ण भएको नेपाल आयल निगमले जनाएको छ । परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगन्जमा रहेको छ । यसका लागि निगमको उच्च अधिकारी सम्मिलित टोली अमलेखगन्ज पुगिसकेको छ ।

निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो । सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र उहाँको भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो ।

निगमको नेतृत्व सम्हाल्ले लगत्तै कार्यकारी निर्देशक पौडेलले उक्त परियोजनालाई तोकिएको समयभित्रै सम्पन्न गर्न ताकेता तथा कुनै समस्या देखिए समाधानका लागि सहजीकरण गर्दै आएका थिए । सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन परियोजनाको शिलान्याश गरेका थिए । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ करीब चार अर्ब ४० करोड) रहेको छ ।