२०७६ भदौ २३ गते १४:१४ विकासन्युज
घोडाघोडी । सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुने भएको छ । गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ ।
भौतिक पूर्वाधार निर्माणको काम भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७३÷७४ देखि सात प्याकेजमा कलेज निर्माणको काम शुरु भएको हो ।
“भवनको भित्री सबै काम पूरा भइसकेको छ”, साउदले भने । छ सय श्यया रहने सो कलेज निर्मणको काम कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ । दुई प्याकेजमा भवन निर्माण गरिरहेको साउदले बताएका छन्।
कलेजमा हाल सानाठूला गरी २७ वटा भौतिक संरचना निर्माण भइरहेका छन् । कलेजको छात्रवास निर्माणको जिम्मा पाएको लुम्बिनी रमण केएस जेभीले ७० प्रतिशत काम सम्पन्न गरेको छ ।
“एक वर्षपछि चिकित्सा शिक्षाको पढाइ शुरु हुनेछ”, साउदले भने । सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको उक्त कलेज निर्माणको घोषणा आव २०६६ र ०६७ मा भएको हो ।
कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ । “आवश्यकताअनुसार थप पूर्वाधार निर्माण गर्दै जानेछौँ”, उनले भने । प्रदेशमा हालसम्म एउटा पनि मेडिकल कलेज छैन । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.