काठमाडौंमा चल्न थाल्यो इलेक्ट्रिक बस, भाडा २० प्रतिशत सस्तो, डेढ वर्षदेखिको अभिष्ट पूरा

  २०७६ भदौ २३ गते १४:२१     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित विद्युतीय सवारी आजबाट सञ्चालनमा आएको छ । निजी क्षेत्रको विद्युतीय यातायात कम्पनी सुन्दर यातायात प्रा.लि.ले चीनबाट ल्याएका ४ ओटा विद्युतीय बस साेमबारबाट व्यवसायिक रुपमा सञ्चालन गर्ने तयारी गरेको हो ।  सोमबार दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साे बसकाे उद्घाटन गरे । उद्घाटनलगत्तै सुन्दरले चक्रपथमा टेष्ट ड्राइभ गर्ने तयारी गरेकाे छ ।

उद्घाटनलगत्तै अहिले ३ बजे सुन्दर यातायात यातायत व्यवस्था विभागमा बस दर्ताको लागि जाँदैछ । यातायातले दर्ता दिए आजै साँझदेखि व्यवसायिक रुपमा बस सञ्चालन गर्नेगरी तयारी गरेको छ ।

डेढ वर्षदेखिको अभिष्ट पूरा

सुन्दर यातायातले विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको अहिलेदेखि होइन । डेढ वर्ष अघिदेखि योजना बनाएको भए पनि सवारीसाधन आयात, सवारी दर्ता, रुट व्यवस्थापन, चार्जिङ स्टेशन निर्माणका लागि विद्युत लाइनको प्राप्ति लगायतमा कठिनाई हुँदा यति समयसम्म सुन्दरले ल्याएका बसहरु ‘आइडल’ रुपमा सञ्चालन हुँदै आएका थिए ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले सबैतिरको अप्ठ्यारो पार गर्नुपर्दा सुन्दर यातायात विद्युतीय सवारी सञ्चालन गर्ने सोचबाटै पछि हट्ने सोचमा पुगिसकेको समेत स्मरण गरे । तर, मिडियाकर्मीहरुको साथ, हौसला र दबाबका कारण आफू पछि हट्न नपरेको समेत उनले बताए ।

खासगरी विद्युतीय सवारीसाधन दर्तामा यातायात मन्त्रालयबाट भएको असहयोगले सुन्दरलाई सबैभन्दा बढी असहयोग गर्यो । ४ पांग्रेभन्दा बढी विद्युतीय सवारीलाई दर्ता अनुमति दिने कानूनी व्यवस्था नै नभएको अवस्थामा मन्त्रालयका मन्त्री र उच्च अधिकारीहरु नै त्यसमा असहयोगी देखेपछि आफ्नो योजना नै त्याग्ने मनस्थितिसम्म पुगेको दुखेसो उनको थियो ।

विद्युतीय यातायात सञ्चालनको अर्को अप्ठ्यारो भनेको चार्जिङ स्टेशनका लागि विद्युत लाइनको प्राप्ति र सवारी चार्ज गर्ने शुल्क निर्धारण हो । सुन्दरले चार्जिङ स्टेशन समेत आफैं ल्याएकोले शुल्कको विषयमा समस्या नरहे पनि विद्युतीय लाइन विस्तारका लागि पनि कयौं कानूनी कठिनाई पार गर्नुपरेको थापाको भनाई थियो । यद्यपि त्यसका लागि उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको सहयोगप्रति भने उनी सन्तुष्ट छन् ।

प्रदेश १ र प्रदेश ५ लाई जोड्दै

सोमबारदेखि काठमाडौंमा सञ्चालन सुरु गर्न लागेको सुन्दर यातायातले प्रदेश १ र प्रदेश ५ लाई समेत जोड्ने योजना बनाएको छ । त्यसका लागि वुटबलदेखि विराटनगर हुँदै झापासम्म सञ्चालन हुनेगरी विद्युतीय बस सञ्चालनका लागि अन्तिम तयारी भइरहेको समेत थापाले बताए । त्यसका लागि बुटवलमा चार्जिङ स्टेशन मंगबारसम्म बनिसक्ने पनि उनले बताए ।

काठमाडौंमा भने चक्रपथका अतिरिक्त काठमाडौंका भित्री रुटहरुमा समेत सो बस सञ्चालन हुनेछ । त्यस्तै पहिले ट्रलिबस सेवा सञ्चालन भएको काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्याविनायकसम्मको रुट पनि थपिएको छ, विद्युतमा आधारित ट्रलिबसको गरिमा र स्मरण गराउने समेत थापाले बताए ।

११ ओटा बस कोलकत्तामा

काठमाडौंमा रहेका ७ ओटा बसमध्ये ४ ओटा बसको व्यवसायिक सञ्चालनको तयारी भइरहँदा चीनबाट आएका ११ ओटा बस कोलकत्ता बन्दरगाहमा आइपुगेको र केही दिनभित्रै त्यो नेपाल आइपुग्ने जानकारी दिए । सो बस आएपछि सुन्दरका १८ ओटा बस हुनेछन् ।

सो बस सञ्चालनका लागि सुन्दर यातायातको तर्फबाट ११ करोड लगानी भएको र चिनियाँ कम्पनीले कुल भुक्तानीको ७० प्रतिशतसम्म क्रेडिट सुविधा दिएको बताइएको छ, त्यसो गर्दा १८ ओटा बसका लागि करिब १८ करोड रुपैंया लगानी गरेको अध्यक्ष थापाको भनाई थियो ।

२० प्रतिशत भाडा सस्तो

सरकारले हाल विद्युतीय सवारीसाधनको लागि कुनै भाडादर निर्धारण गरेको छैन । सरकारले भाडादर निर्धारण नगरे पनि सामान्य सवारीहरुको भाडादरकै आधारमा सुरुवाती भाडादर सुन्दरले कायम गरेको छ । तर सो भाडामा आन्तरिक रुपमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको यातायातले जानकारी दिएको छ । सरकारले छुट्टै भाडादर तोक्यो भने सोही भाडादरअनुसार चल्ने योजना सुन्दरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.