एटीएम कार्ड बोक्नेलाई थप राहत, भुक्तानीमा शुल्क नलाग्ने, बोनस पाइने, भ्याट फिर्ताको अन्तिम तयारी

२०७६ भदौ २३ गते ९:४९ विकासन्युज

काठमाडौं । रेष्टुरेन्ट, टिकट काउन्टर लगायत स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुलाई थप राहत हुने भएको छ । डेविट वा क्रेडिट कार्डबाट भुक्तानी लिने त्यस्ता स्थानहरुमा हुने भुक्तानीमा त्यस्तो सेवा प्रदायकहरुले लिने शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेसँगै त्यस्तो राहत हुने भएको हो ।

नेपाल राष्ट्र बैंकले आईतबार परिपत्र जारी गर्दै ‘प्वाइन्ट अफ सेल’ मार्फत् हुने भुक्तानीमा कुनैपनि प्रकारको शुल्क लिन नपाउने व्यवस्था गरेसँगै डेबिट वा क्रेडिट कार्डमार्फत् हुने  भुक्तानीमा भुक्तानी वापतको शुल्क लिन नपाउने व्यवस्थाकाे हाे । मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले लिएको सो नीति राष्ट्र बैंकको परिपत्रसँगै औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।

वइन्ट अफ सेल मेसिन भएका त्यस्ता ठाउँबाट सामान किन्दा ग्राहकले आफुसँग भएको कुनैपनि बैंकको डेबिट वा क्रेडिट कार्ड बिक्रेतालाई दिनेछ । सो बिक्रेताले त्यसलाई पीओएस मेसिनमा घुसाएपछि ग्राहकले सो भुक्तानीको भेरिफाइ गरिदिनुपर्नेछ । यसो गरेपछि सो वस्तु तथा सेवा खरिद गरेवापतको रकम ग्राहकको खाताबाट बिक्रेताको खातामा सोझै ट्रान्सफर हुनेछ ।

यस्तो भुक्तानीमा हालसम्म कहीँ अतिरिक्त शुल्क आएका थिए भने केही बैंकहरुले त्यस्तो सेवा निशुल्क गर्दै आएका थिए । त्यस्तो भुक्तानीमा यसअघि अतिरिक्त शुल्क पनि लाग्दै आएको थियो । केही बैंकहरुले भने विक्रेताहरुसँग सहमति गरी त्यस्तो शुल्क नलिने व्यवस्था पनि गरेका थिए । अब भने यो पूर्णतः निशुल्क भएको छ । केही बैंकहरुले भने विक्रेताहरुसँग सहमतिमा हाल त्यसरी हुने भुक्तानीमा ग्राहकलाई बोनस वा क्यास फिर्ता योजनाहरु ल्याएका छन् ।

भ्याट फिर्ताको अन्तिम तयारी

चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले क्यासलेस भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता गर्ने योजना समेत ल्याएको छ, यद्यपि त्यस्तो क्यासब्याकको मोडालिटी के हुने भन्नेबारे सरकारी अधिकारीहरु छलफलमै रहेको र छलफल अन्तिम चरणमा रहेको आन्तरिक राजश्व विभागका अधिकारीहरु बताउँछन् ।

‘हामीले भ्याट फिर्ता दिने योजना त ल्यायौं तर त्यस्तो भ्याट सामान खरिद गर्दा नै छुट दिने कि ग्राहकको खातामा ट्रान्सफर गरिदिने भन्ने मोडालिटी बन्न बाँकी छ, त्यो भएपछि यस्तो भुक्तानीमा भ्याट छुट दिने योजना सुरु हुन्छ’ विभागका एक अधिकारीले भने । उनका अनुसार विभाग यसको अन्तिम तयारीमा छ, सम्बन्धित ग्राहकको बैंक खातामै भ्याट रकम ट्रान्सफर गर्नेगरी निर्णय हुनसक्ने ती अधिकारीको भनाई थियो ।

यस्तो भुक्तानीबाट कुनै क्रेताको खातामा रहेको पैसा बिक्रेताको सम्बन्धित बैंक खातामा सोझै ट्रान्सफर हुने भएकोले कुनैपनि क्रेता वा विक्रेताको खल्ती वा भल्टमा ‘आइडल मनि’ रहने सम्भावना हुँदैन यसले वित्तीय तरलतामा देखिने उतारचढाव समेत कम गर्न मद्दत गर्छ ।