शेयरबजार लगानीकर्ताहरुसँग अर्थमन्त्री : सधैं तपाईँहरुसँग छलफल गर्न समय छैन

  २०७६ भदौ २२ गते ११:३३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले शेयर बजार लगानीकर्ता संघका प्रतिनिधिहरुसँग भेटिरहन आफ्नो फुर्सद नहुने बताएका छन् । आर्थिक क्षेत्रको व्यापकता धेरै रहेको र सबै क्षेत्रलाई उत्तिकै समेटेर जानुपर्ने भएकोले शेयर बजारका प्रतिनिधिहरुसँग सँधै धेट्न समय नहुने उनले बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजको १० औं वार्षिकाेत्सव तथा साधारणसभामा उपस्थित भएका नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता दबाब समूह लगायत लगानीकर्ता संघका प्रतिनिधिहरु उपस्थित बैठकमा अर्थमन्त्रीले त्यस्तो बताएका हुन् । ‘तपाईँहरु शेयरबजार घट्यो भन्ने चिन्ता गर्नुहुन्छ, मलाई आर्थिक वृद्धि तल जान्छ कि भन्ने चिन्ता लाग्छ’ अर्थमन्त्री खतिवडाले भने ।

उनले अर्थतन्त्रमा पुँजी परिचालनको एउटा स्रोत भनेको पुँजीबजार भएको भन्दै यसको विकासका लागि आफूहरू सकारात्मक प्रयास गरेको दाबी गरे ।

कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष अञ्जित तुलाधरले शेयर बजारमा सकारात्मक परिवर्तन ल्याउने केही काम गर्न अर्थमन्त्रीसँग आग्रह गरे । शेयर लगानीकर्ता दबाव समूहका अध्यक्ष हरि ढकालले बजारलाई बजार बन्न दिन र यसलाई प्राकृतिक रुपमा अघि बढ्न दिन आग्रह गर्दै अर्थ मन्त्रालयले गठन गरेको समितिले दिएका ५८ बुँदै सुझाव कार्यान्वयन गर्न सुझाव दिए ।

शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पुँजीबजारको विकासका लागि अर्थमन्त्रीको हालसम्मको प्रयास सकारात्मक भएको बताउँदै बजारमा देखिएका थप केही समस्या समाधान गरेर पुँजी बजारप्रति लगानीकर्ताको विश्वास बढाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले समेत पुँजी बजारको विकासका लागि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.