बीमा कम्पनीको शाखा २ हजार ५ नाघ्यो, साढे ९ हजारले पाए प्रत्यक्ष रोजगार

  २०७६ भदौ २१ गते १८:०१     विकासन्युज

काठमाडौ । बीमा व्यवसाय बढ्दै जाँदा बीमा व्यवसाय गर्ने कम्पनीहरूले शाखा विस्तारमा तिव्रता दिएका छन् । गत आवको अन्त्यसम्म ३९ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीले दुई हजार ५ सय २३ शाखा विस्तार गरेका छन् । गत आर्थिक वर्ष २०७५/७६ सम्म जीवन बीमा गर्ने १९ बीमा कम्पनीले १ हजार ६ सय ५४ शाखा कार्यालय स्थापना गरेका छन् । निर्जीवन बीमा व्यवसाय गर्ने २० कम्पनीको शाखा विस्तार पनि ८ सय ६९ पुगेको छ ।

गत आवसम्म बीमा कम्पनीमा प्रत्यक्ष रुपमा ९ हजार चार सय ८१ जनाले रोजगारी पाएका छन् । सोमध्ये जीवन बीमा कम्पनीतर्फ ४ हजार ७ सय ९८ जनाले रोजगारी पाएका छन् भने निर्जीवन बीमातर्फ ४ हजार ६ सय ८३ ले रोजगारी पाएको बीमा समितिले जानकारी दिएको छ ।

सबै भन्दा धेरै शाखा यूनियन लाइफ इन्स्योरेन्सको

जीवन बीमा तर्फ सबैभन्दा धेरै १ सय ७८ वटा कार्यालय यूनियन लाइफ इन्स्योरेन्स कम्पनीकोे रहेको छ । शाखा विस्तारमा दोस्रो स्थानमा प्राइम लाइफ इन्स्योरेन्सले लिएको छ । गत आवसम्म प्राइम लाइफले १ सय २७ शाखा विस्तार गरेको छ । निर्जीवन बीमातर्फ भने सबैभन्दा धेरै ९२ वटा कार्यालय शिखर इन्स्योरेन्स कम्पनीले विस्तार गरेको छ । निर्जीवन बीमातर्फ ७६ शाखा कार्यालय विस्तार गरेर सिद्धार्थ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा पुगेको छ ।

जीवन बीमा गर्ने कम्पनीहरूमा सबैभन्दा धेरैलाई रोजगारी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले दिएको छ । उक्त कम्पनीमा ४ सय जनाले रोजगारी पाएका छन् । युनियन लाइफ इन्स्योरेन्समा ३ सय ८३ कर्मचारीले रोजगारी पाएका छन् ।

निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा धेरै ६ सय १० कर्मचारी शिखर इन्स्योरेन्स कम्पनीको रहेका छन् । निर्जीवन बीमा तर्फ दोस्रो स्थानमा नेको इन्स्योरेन्स कम्पनीमा रहेको छ । उक्त कम्पनीमा ३ सय ६३ कर्मचारी रहेको बीमा समितिको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.