दोहोरो विवरण पेश गर्ने ऋणीलाई झड्का, करबाट विवरण लिएरमात्र ऋण दिन बैंकहरूलाई निर्देशन

  २०७६ भदौ २० गते १४:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले ऋण दिँदा ऋण लिन चाहने व्यक्ति वा संस्थाहरूको वित्तीय सूचना कर कार्यालयबाट लिन निर्देशन दिएको छ । शुक्रबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै आर्थिक वर्ष २०७६/७७ को बजेटमा उल्लेख गरिएको दोहोरो विवरण पेश गर्ने समस्या समाधान गर्ने सम्बन्धमा बैंकहरूलाई त्यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालद्वारा हस्ताक्षरित परिपत्रमा सो विषय उल्लेख गरिएको छ ।

बैंकहरूले आफू दर्ता भएको सम्बन्धित कर कार्यालयबाट युजरनेम र पासवर्ड लिन सक्ने र सो युजरनेम र पासवर्ड कार्यालयको सिष्टमा प्रविष्ट गरेपछि सम्बन्धित ऋणीले कर कार्यालयमा पेश गरेको वित्तीय विवरणहरू बैंकले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

बैंकबाट ऋण लिन चाहने व्यक्तिहरूले बैंक र कर कार्यालयमा पेश गर्ने विवरण छुट्टाछुट्टै बनाउने र कर छली गर्ने प्रवृत्ति बढेपछि त्यसलाई निरुत्साहन गर्न यस्तो कदम चालिएको हो । यस अघि आन्तरिक राजस्व विभागले समेत दोहोरो वित्तीय विवरण पेश गर्ने प्रवृत्ति हटाउन भन्दै बैंकहरूलाई कर कार्यालयबाट ऋणीको विवरण लिएरमात्र ऋण दिन भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.