आईपीओ निष्कासनको तयारी गर्दै नयाँ बीमा कम्पनीहरु, सवा ८ अर्बको आईपीओ आउने, बजारले कसरी धान्ला ?

  २०७६ भदौ २० गते ११:१३     विकासन्युज

काठमाडौं । एनआरएफएस प्रणालीअनुसार वित्तीय विवरण बनाउने झन्झटलाई पार लगाएसँगै नयाँ बीमा कम्पनीहरु धमाधम आईपीओ निष्कासन गर्ने तयारीमा जुटेका छन् । पुरानो एनएएस प्रणालीलाई एनएफआरएस प्रणालीमा रुपान्तरण गर्नुपर्दा लामो समय गुजारेका कम्पनीहरु अब भने धमाधम आईपीओ निष्कासन गर्नेतर्फ अग्रसर भएका हुन् । धेरैजसो बीमा कम्पनीका सञ्चालक वा उच्च व्यवस्थापकहरु यसै बर्ष आईपीओ निष्कासन गर्ने बताउन थालेका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले इन्स्योरेन्सको साधारणसभामा आईपीओ प्रस्ताव आउने र त्यससँगै यसे वर्ष आईपीओ निष्कासन गर्नेगरी अघि बढ्ने तयारी गरिरहेको जानकारी दिए ।

त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले पनि ७० करोडको चुक्तापुँजी भएको जनरल इन्स्योरेन्सको ३० करोडको आईपीओ यसैवर्ष जारी गरी न्यूनतम चुक्ता पुँजी पुर्याउने जानकारी दिए ।

त्यसो त, ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण तयार गरेसँगै सो आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षक नियुक्त गर्न बोलाएको साधारणसभामा आईपीओ प्रस्तावउपर छलफल गर्ने एजेन्डा समेत तय गरेको छ ।

पौने ९ अर्बको आईपीओका लागि तयारी

जीबनबीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनी समेत गरी बीमा क्षेत्रबाट पौने ९ अर्ब भन्दा बढी आईपीओ आउन बाँकी छ । अघिल्लो वर्ष मात्रै लाइसेन्स पाएका १० बीमा कम्पनीहरुको ६ अर्ब २८ करोड ५० लाख बराबर, निर्जीवन बीमा कम्पनीका तर्फबाट ९० करोड र नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ६० करोड समेत गरी कुल ८ अर्ब ७८ करोड ५० लाख रुपैंया बराबरको आईपीओ निष्कासन हुन लागेको हो ।

हाल नयाँ जीवनबीमा कम्पनीहरुको कुल चुक्तापुँजी १४ अर्ब ६६ करोड ५० लाख तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब १० करोड छ । यो पुँजीलाई ७० प्रतिशत मान्दा थप ३० प्रतिशत आईपीओ ल्याउँदा उक्त परिमाणमा आईपीओ आउने भएको हो । नेपाल पुनर्बीमा कम्पनी भने सरकारी लगानी समेतको कम्पनी भएकोले यसलाई ७०ः३० को अनुपातमा आईपीओ निष्कासन गर्नुपर्ने बाध्यता छैन । त्यसैले उसले १६ प्रतिशतले हुने अर्ब ६० करोड रुपैंया बराबरको शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

यद्यपि महालक्ष्मी लाईफ इन्स्योरेन्सले भने १ वर्ष पछि मात्रै लाइसेन्स प्राप्त गरेको कारण सो कम्पनीको आईपीओ यो वर्ष आउने सम्भावना कम छ । त्यसो हुँदा पनि करिब सव ८ अर्बको आईपीओको लागि यही वर्ष प्रक्रिया सुरु हुन्छ ।

शेयरको ओभरफ्लो हुँदै, व्यवस्थापन कसरी होला ?

ठूलो लगानीसहित एकैपटक ठूलो संख्यामा भित्रिएको र एकै समयमा आईपीओ आउने तयारी गरेको अवस्थामा यसलाई बजारले कसरी धान्छ भन्ने चासो देखिन चालेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अनिवार्य रुपमा ऋणपत्र जारी गर्न निर्देशन दिएको, वास्तविक क्षेत्रका कम्पनीहरु पनि आईपीओमा अग्रसर देखिएको र बीमा कम्पनीहरुको समेत एकैपटक ठूलो परिमाणमा आईपीओ आउन लागेको अवस्थामा ती सबै आपूर्तिलाई बजारले कसरी धान्छ भन्ने सवाल उठ्न थालेको हो । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोट पनि यसका लागि बीमा कम्पनीहरु मिलेर आईपीओ निष्काशन गर्ने समय व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.