कपाल पनि निर्यात हुन्छ नेपालबाट, किलोकै एक लाख बढी, कसले किन्छ नेपाली कपाल ?

  २०७६ भदौ १९ गते १६:१५     राजाराम न्यौपाने

काठमाडौँ । हामीले पैसा तिरेर काटेर फालेको कपाल ठूला र विकसित मुलुकमा निर्यात हुन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर, नेपालबाट भारत, चीन, दक्षिण कोरियामात्रै नभई अमेरिकासम्म नेपाली कपाल निर्यात हुने गरेको छ । त्यो पनि वैधानिक रूपमा । जति लामो कपाल भयो, उति बढी मूल्य पाइन्छ ।

गत आर्थिक वर्षमा नेपालबाट क्यानडामा प्रति केजी १ लाख ५ हजार ९७२ रुपैयाँमा नेपाली कपाल निर्यात भएको छ । क्यानडामा गत आर्थिक वर्षमा २ केजी कपाल निर्यात भएको छ ।

नेपालले आर्थिक वर्ष २०७५/०७६ मा मात्रै २१ करोडको कपाल निर्यात गरेकाे छ । अघिल्लो आर्थिक वर्षमा १६ करोड रुपैयाँकाे मात्रै कपाल निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा ५ करोडले कपाल निर्यात वृद्धि भएको छ । जुन २७ प्रतिशत बढी हो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ८ हजार १८६ केजी कपाल र कपालजन्य वस्तु २१ करोड ७ लाख ७७ हजार ४३१ रुपैयाँमा निर्यात भएको थियाे । अघिल्लो आर्थिक वर्षमा  १६ करोड ५० लाख ९४ हजार ६६० रुपैयाँ मूल्य बराबरकाे ४ हजार ७४३ केजी कपाल निर्यात भएको थियो । कपाल, दाह्री, आँखीभौँ, नक्कली कपाल र परेला पनि निर्यात हुने केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै दक्षिण कोरियामा १२ करोड ८१ लाख ८८ हजार ४४९ रुपैयाँको ४ हजार ३९१ केजी कपाल निर्यात भएको छ । अमेरिकामा १ करोड ८६ लाख ६१ हजार २५२ रुपैँयाको ३४० केजी कपाल निर्यात भएको छ । चीनमा १० लाख ४१ हजार ३६४ रुपैँयाको २ हजार ४५२ केजी कपाल निर्यात भएको छ । जापानमा ३ करोड ८५ लाख ४२ हजार ८४७ रुपैँयाको ९४८ केजी कपाल निर्यात भएको छ । नेदरल्यान्डमा १७ लाख ८८ हजार ४८७ रुपैँयाको ३३ केजी कपाल निर्यात भएको छ । यी बाहेक अन्य देशमा पनि कपाल निकासी भएको छ ।

कलंकीमा रहेको ठाकुर सैलुनका सञ्चालक तथा सिटीईभीटीईमा व्यट्रिपाल प्रशिक्षक राजकुमार ठाकुरले भने हामीले काटेको कपाल संकलन गरेर विदेश निर्यात हुने बताए । उनले प्रशिक्षण दिँदा पनि लामो र राम्रो कपाल नेपालबाट निर्यात हुने जानकारी दिने गरेको बताए । उनले नेपालभरी करिब १६/१७ हजारजति सैलुनहरू भएको बताउँछन् ।

अघिल्लो आर्थिक वर्षमा (२०७४/०७५) कुन देशमा कति कपाल निर्यात ?

तथ्यांकअनुसार नेपालबाट सबैभन्दा धेरै दक्षिण कोरियामा ८ करोड ५७ लाख ३ हजार ९८३ रुपैयाँको २ हजार १५४ केजी कपाल निर्यात भएको थियो । जापानमा ३ करोड ३६ लाख १५ हजार १०८ रुपैँयाको १ हजार १०६ केजी कपाल निर्यात भएको छ । चीनमा २ करोड ५७ लाख ६१ हजार ६८० रुपैँयाको ५२१ केजी कपाल निर्यात भएको थियो ।

नेदरल्यान्डमा १ करोड ७३ लाख ८० हजार ९०४ रुपैँयाको ८५६ केजी कपाल निर्यात भएको थियो । ताइवन चीनमा १३ लाख ६७ हजार १५५ रुपैँयाको ८ केजी कपाल निर्यात भएको थियो । बेल्जियममा ५ लाख ७५ हजार ४६१ रुपैँयाको ५२ केजी कपाल निर्यात भएको थियो । बेलायतमा ३ लाख ७९ हजार ८८५ रुपैँयाको ३८ केजी कपाल निर्यात भएको थियो । स्वीजरल्याडमा ३ लाख १० हजार ४८५ रुपैँयाको ८ केजी कपाल निर्यात भएको थियो ।

कसरी सुरु भयो विश्वमा कपालको व्यापार ?

साढे ६ दशकअघि कोरियाली सरकारले हरेक व्यक्तिले मुलुक निर्माणका लागि एक न एक वस्तु दान गर्नैपर्ने व्यवस्था ल्याएको थियो । त्यस पछि महिलाले लामो कपाल राज्यलाई दान दिन थाले । दान दिएको कपाल विदेश निर्यात गरी विदेशी मुद्रा आर्जन हुन थालेको थियो । त्यसपछि विश्वभर नै कपाल व्यापारले वैधानिकता पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.