नव नियुक्त महावाणिज्यदूतले भने– साना उद्योगीका उत्पादनको अन्तराष्ट्रिय मार्केटिङमा सघाउँछौं

  २०७६ भदौ १९ गते ११:३५     विकासन्युज

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्घन गर्ने उनीहरुले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकहरुका लागि नियुक्त गरेका नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुसँगको स्वागत तथा भेटघाटमा उनीहरुले आफुहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने बताएका हुन् ।

नेपालको प्रतिनिधित्व गर्दै नेपाल सरकारले चीनको बेइजिङ तथा ग्वाङगझाउका लागि नियुक्त महावाणिज्यदूत छविन्द्र पराजुलीले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा रहेका साना उद्योगहरुको योगदानलाई बिर्सन नहुने बताएका छन् । आफुहरु लघु, घरेलु तथा साना उद्योगीहरुकै प्रतिनिधि भएर कार्य क्षेत्रमा खटिने भन्दै उनले यस्ता उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् ।

भारतका लागि नवनियुक्त पर्यटनदूत निता पोखरेलले झण्डै ७० प्रतिशत निर्यातको हिस्सा ओगट्ने घरेलु उद्योगहरुको उत्पादनलाई विश्व बजारमा प्रचार प्रसार गर्ने आफुहरुको प्रमुख जिम्मेवारी रहेको बताएकी हुन् । महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुलाई स्वागत गर्दै ती दुई देशमा नेपालको निर्यात व्यापार बृद्धि गर्न, त्यहाँका बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन र नेपालमा रहेका घरेलु तथा साना उद्योगलाई आवश्यक उन्नत प्रविधि भित्र्याउन विशेष पहल हुने अपेक्षा गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्

मुलुकमा चुलिँदै गएको व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा उनले जोड दिएका छन् ।

यस्ता उत्पादनहरुको अन्तराष्ट्रिय बजारीकरणका लागि नेपालबाट प्रतिनिधित्व गरेर जाने महावाणिज्यदूत र पर्यटनदूतहरुले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.