विषादीयुक्त तरकारीको मूल्यमा नै अर्गानिक तरकारी बेचिरहेका छौँः पवन गोल्यान

  २०७६ भदौ १८ गते १४:२४     विकासन्युज

व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले कृषिबाट हात झिकेर विदेशी रेमिट्यान्सको मुख ताकिरहेका कृषकलाई माथि उठाउने प्रयत्न गरिरहेको छ । नेपालका ठूला व्यावसायिक घरानाहरुमध्येको गोल्यान समूह पनि एक हो । आयात व्यापारलाई भन्दा निर्यात व्यापारमा सक्रिय गोल्यान समूहले कृषिलाई अँगालेर नेपालको व्यावसायिक इतिहासमा अर्को उदाहरण पेश गरेको छ । विषादीयुक्त वस्तुको उपभोगले आम जनताको स्वास्थ्यमाथि ठूलो असर गरिरहेको अवस्थामा यस्ता वस्तुको आयात रोकेर नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य प्राप्तिमा लागि रहेको छ गोल्यान समूह ।

बैंक, धागो र प्लास्टिकजन्य वस्तुमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अर्गानिक कृषिमा पनि लगानी सुरु गरेको छ ।  गु्रपले प्रदेश नं १ मा अर्गानिक उत्पादन र व्यवसाय विस्तारको लागि दुई लगानी लगानी गरिरहेको छ । नेपाललाई अर्गानिक उत्पादन गर्ने देश भनेर विश्वभर चिनाउने समूहको उद्देश्य रहेको छ । देशबाट निर्यात गरी व्यापारघाटा घटाउने लक्ष्यमा केन्द्रित भएको गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानसँग विकासन्युजका लागि राजाराम न्यौपानेले गरेको विकास बहसः

धेरै फाइदा हुने अन्य व्यवसाय नरोजेर कृषि व्यवसायलाई किन रोज्नु भयो ?

मैले ६० वर्ष पुगेपछि आफ्नो सबै व्यापार व्यवसाय छोराछोरीलाई जिम्मा लगाए । तर, पनि ममा आफूले नै केही नयाँ व्यवसाय गर्ने इच्छा जागेर आयो । बजार व्याप्त विषादीयुक्त तरकारी र फलफूल देखेर वाक्क भएको थिएँ । यो देखेर ममा अर्गानिक उत्पादन गर्ने अठोट जागृत भयो । देशमा व्याप्त विषादीको प्रयोगलाई निमूल पार्ने अभियानका साथ मैले यो व्यवसाय शुरु गरेको हुँ ।

भारतमा अध्ययन गर्न जाँदा दुर्घटना परी छोराको निधन भएपछि मैले उसकै यो व्यवसाय शुरु गरेको हुँ । देश र जनतालाई विषादी रहित तरकारी तथा फलफूल उत्पादन गर्ने सोचका साथ म कृषिमा प्रवेश  गरेँ । म मात्रै होइन देशका कृषकलाई समेत अर्गानिक कृषिमा जोड्ने अभियान मैले लिएको छु । अर्गानिक खेतीको लागि प्राविधिक राखेर झापाबाट मैले ५ वर्षअघि माटो ब्राण्ड शुरु गरेको हुँ ।

माटो ब्रान्डले कसरी कृषकलाई जोड्छ त?

हाम्रा अर्गानिक उत्पादन गर्ने कृषकहरूले उत्पादन गरेका वस्तुहरु बिचौलिया विना नै माटो ब्रान्ड मार्फत बजारमा ल्याएका छौं । माटो ब्रान्डमा जोडिएर कृषकले कसरी फाइदा पाउँछन् त भन्दा हामीले झापामा कृषि पेशामा रहेका कृषकहरुले १ बिघा बराबर वार्षिक कति कमाइ रहेका छन भनेर हेर्यौ । त्यहाँ कृषकहरूले प्रति बिघा २० देखि ५० हजार कमाइरहेका छन् । यद्यपि हाम्रो ब्रान्डले प्रति बिघा २ लाखको तरकारी तथा फलफुल उत्पादन हुने वा गराउने लक्ष्य लिएर अगाडि बढेको छ । कृषकलाई अर्गानिक उत्पादन गर्न प्राविधिक सहयोग, अर्गानिक बिउ र उत्पादनलाई बजारमा पुर्याउने काम गर्दछ ।

माटो ब्रान्डले उत्पादन गरेको अर्गानिक  तरकारी तथा फलफूल सामान्य उपभोक्ताले पनि प्रयोग गर्न सक्छन् ?

सामान्यतया बजारमा उपलब्ध तरकारी तथा फलफूलको मूल्य र माटो ब्रान्डले उत्पादन गरेको तरकारी तथा फलफूलको मूल्य बराबर नै हुन्छ । विषादी प्रयोग भएको र अर्गानिक तरिकाले उत्पादन भएको तरकारी तथा फलफूलहरूको मूल्य समान भएपछि सामान्य उपभोक्ताहरुले माटो ब्रान्डका तरकारी तथा फलफूल प्रयोग गर्न सक्छन् । सुरुको चरणमा हामी घाटामा छौ ।

विस्तारै हाम्रो उत्पादन वृद्धि हुन्छ र हामीसँग अर्गानिक उत्पादन गर्ने कृषकहरु पनि आएर जोडिन्छन् । त्यस पछि हाम्रो घाटा घट्दै नाफा तर्फ जान्छ । कृषिजन्य वस्तुको आयात घटाउने र निकट भविष्यमा अर्गानिक कृषि वस्तुलाई अन्य देशमा निकासी गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौ । नेपाल सगरमाथा र बुद्धको देश भनेर चिनिए जस्तै अर्गानिक तरकारी तथा फलफूल उत्पादन गर्ने देश भनेर चिनाउने छौ ।

अर्गानिक खेतीको सम्भावना कसरी महसुस गर्नुभयो ?

कृषि प्रधान देश भनेर चिनिएको नेपालमा किसानहरुलाई कृषिमा नै आत्मनिर्भर बनाउनुपर्छ भन्ने लागेर नै कृषि व्यवसायमा हात हालेका हौं । झापा जिल्लाका करिब ५० वटा गाउँमा हामीले काम गरेका छौँ ।नेपालमा विभिन्न किसिमका रोगबाट पीडित धेरै किसानहरु भएकाले किसानलाई विषदीमुक्त कृषिमा लाग्न प्रेरित हुने काम सुरु गर्नुपर्छ भनेर यो सुरु भएको हो । विषादीको प्रयोग भएका वस्तुहरूको आयात निकै बढेको र यसलाई नरोकी आत्मनिर्भर बन्न नसकिने अवस्था महसुस गरेर नै काम सुरु गरेका हौं ।

देशको व्यापार घाटा कम गर्न कृषिमा आत्मनिर्भर बनाउन सक्नुपर्छ जस्तो लाग्छ । यसका लागि त किसानहरुलाई अगाडि ल्याउनु पर्यो । उनीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सीपका साथै नयाँ प्रविधिबारे जानकारी दिनुपर्छ भन्ने लागेर नै यो क्षेत्रमा लागेको हुँ ।

नेपालमा कृषि क्षेत्र पछाडि पर्दै गएको अवस्थामा तपाईले थाल्नुभएको अर्गानिक खेतीको भविष्य कस्तो होला ?

नेपाली जनताले विषादी मिसिएको तरकारी तथा फलफूलबाट कसरी छुटकारा पाउने भन्ने कुरा खोजिरहेका छन् । सुरुमा किसानलाई अर्गानिक खेतीमा ल्याउन कोशिस गर्दा  विश्वास गर्न गारो हुने, खेती गर्न नै नचाहने अवस्था थियो । त्यो अवस्थामा परिवर्तन गर्न हामीले माटो ब्रान्ड र फार्मबाट अर्गानिक तरकारी उत्पादन सुरु गरी बजारमा ल्यायौ र त्यसमा कृषक पनि जोडिन थालेका छन् । मुख्य कुरा किसानलाई बुझाउन जरुरी छ कि अर्गानिक खेतीले लागत घटाउँछ ।

तपाईसँग अर्गानिक कृषिमा जोडिएका कृषहरुको प्रतिक्रिया कस्तो छ ?

हामीले सुरु गरेका धेरै गाउँहरु अहिले अर्गानिक खेतीमा सक्रिय रूपमा लागेका छन् । अहिले कृषकहरू नै अर्गानिक कृषिमा राम्रो हँुदो रहेछ भन्ने बुझेका छन् । देश भरका धेरै किसानहरु अर्गानिक खेतीमा प्रोत्साहित हुँदै गएका छन । उनीहरुलाई सहयोग गर्दै जाने हाम्रो पनि चाहना हो ।

गोल्यान समूहले अर्गानिक खेतीप्रति किसानलाई आकर्षण बढाउन के गर्दैछ ?

हामीले प्राविधिकसहित गाउँमा गएर त्यहाँको अवस्थाका बारेमा अध्ययन तथा अवलोकन गर्यौ । कुन उत्पादन राम्रो हुन्छ भनेर यस सम्बन्धमा पनि परीक्षण गरियो । हामीले प्रत्येक गाउँ गाउँमा कृषि विज्ञ खटाएर चेतनामूलक तालिम सञ्चालन गरी ज्ञान प्रदान गरिरहेका छौँ । किसानहरूलाई बीउ, बिरुवाहरु चाहिएमा पनि हामीले ल्याइदिने गरेका छौ ।

जुन ज्ञान हामीले किसानलाई प्रदान गरेका छौ, त्यसबाट किसानले गाउँमा अर्गानिक उत्पादन गर्न सक्छन् । उत्पादित वस्तुको निर्यात लागत बेहोर्ने गरी किसानहरुलाई अर्गानिक खेती प्रति प्रेरित गर्ने कार्य हामीले गरिरहेका छौं ।

अर्गानिक उत्पादन फष्टाउन केको प्रयोग गरिन्छ ?

अर्गानिक भनेकै शरीरलाई हानी नगर्ने भन्ने हो । गाउँघरमा नै उत्पादन हुने गौमूत्र, निम, धतुरोहरुको प्रयोग गरेर हामीले तरकारी तथा फलफूल उत्पादन गर्न लागेका हौं । हामीले हाम्रो गाउँमा नै पाउने वस्तुहरुको प्रयोग गरेर अर्गानिक उत्पादन फष्टाउने बनाउने उपाय तथा विकल्पहरूको खोजी गरेका छौ । यसले स्थानीय वस्तुको सदुपयोग हुनाका साथ विदेशबाट आयत हुने विषादीको खर्च पनि जोगिन्छ ।
गाई भैँसीको गोवर, खर गायतलाई कुहाएर मलको रुपमा प्रयोग हुन्छ, जसले रासायनिक मलको आवश्यकता नै पर्दैन । यसरी मल उत्पादन भएपछि रासायनिक मल किन्दा किसानलाई जुन लागत लाग्थ्यो, त्यो लागत पूर्ण रूपमा घट्छ ।

अर्गानिक बीउबिजन कसरी तयार पारिन्छ वा ल्याइन्छ ?

अर्गानिक बीउबिजन हाम्रो माटो ब्रान्डले नै उत्पादन गर्छ । स्थानीय साधन स्रोतबाटै उत्पादन गरिएको अर्गानिक बीउबिजनहरू किसानलाई दिने हो । नेपालमा नपाइने अर्गानिक बिउहरु हामीले भारतबाट आयात गरेर त्यसको संरक्षण र विकास गर्छाै ।

अर्गानिक खेतीको लागि किसानले कतिको साथ र सहयोग दिएका छन् ?

तपाईले अर्गानिक उत्पादन भएको ठाउँमा नै गएर उनीहरुसँग कुरा गर्न सक्नुहुन्छ । हामीले अनुमान गरेभन्दा पनि धेरै किसानहरु उत्साहित छन् । हामीले खेती गरेको ठाउँ हेर्न आउनेहरुले खेती हेरेर फर्किए पछि माटो ब्रान्डमा आएर हामी पनि यति जमिनमा यस्तो खालको खेती गर्छौं भनेर साथ र सहयोग दिइरहेका छन । यसले हामीलाई झनै उत्साहित बनाएको छ । अहिलेसम्म ५ हजारभन्दा धेरै किसान हामीसँग जोडिन आएका छन् । यसबाट किसानको उत्साह प्रष्टै देख्न सकिन्छ ।

माटो ब्रान्डले कस्तो कस्तो खेतीलाई बढी प्राथमिकता दिएको छ ?

हाम्रो ब्रान्डले विशेष गरेर तरकारी तथा फलफुल खेतीका साथै धान, दाल, मकैलाई प्राथमिता दिएको छ । हाम्रो समूहले झापामा २ सय बिघा जमिनमा खेती गरिरहेका छ । हामीले आँप, लिची, मेवा, ड्रागन फुड, खरबुजा, तरबुजा, कागती, स्ट्रबेरीलगायतका फलफूलमा जोड गरेका छौँ । हामी यो २ सय बिघालाई कमर्सियल फाम बनाउने प्रयासमा छौ । अहिले १ नम्बर प्रदेशमा २ अर्बको लगानी गरेर काम गरिरहेका छौँ विस्तारै अन्य प्रदेशमा पनि विस्तार गर्दै लैजाने योजनामा गोल्यान समूह छ ।

तपाईहरुको अर्गानिक उत्पादन भाटभटेनी र विगमार्टमा मात्रै किन ?

अहिले सुरुको चरण भएकाले पनि भाटभटेनी र विगमार्टमा मात्रै उपलब्ध गरिएको हो । यसलाई हामीले विस्तारै अन्य सामान्य बजारमा पनि ल्याउँछौ । हाम्रो अर्गानिक उत्पादन र बजारमा भएका अन्य उत्पादनको मूल्य बराबर भनेरै सबै उपभोक्ताले उपभोग गर्न सकुन् भन्ने हो । बराबरी मूल्य भएपछि सबै उपभोक्ताहरुले माटो ब्राण्डको तरकारी तथा पलफूल प्रयोग गर्ने छन् ।

अन्य उत्पादनमा जस्तै बराबरी मूल्यमा अर्गानिक उत्पादनलाई बजारमा ल्याउँदा चुनौती हुँदैन ?

सुरुमा हामीले घाटामा नै व्यापार व्यवसाय गरेका छौँ । हामीले जनताको स्वास्थ्यका लागि घाटामा नै काम गरिरहेका छौं । विस्तारै कृषक र उपभोक्ताहरुलाई अर्गानिक उत्पादन प्रति आकर्षण बढाउँदै लैजाने हाम्रो लक्ष्य हो । हाम्रो घाटाबाट विस्तारै नाफामा जान्छ । अनि हामीलाई चुनौती हुँदैन । हाम्रो उत्पादनमा विचौलिया रहँदैन । हामीले कृषकबाट ल्याएको वस्तुमा १० प्रतिशत प्याकिङ र ढुवानीलगाएत खर्च जोडेर बजारमा ल्याएका छौ । उपभोक्ताले पनि सस्तोमा तरकारी तथा फलफुल प्रयोग गर्ने पाउने र कृषकले पनि बिचौलियको मारमा नपर्ने भएकाले पनि हामीलाई अझ सहज हुन्छ ।

अर्गानिक उत्पादन विदेश पनि निर्यात हुन्छ ?

हामीले नेपाललाई अर्गानिक उत्पादन गर्ने देश भनेर केही वर्षमा चिनाउने छौं । अहिले पनि विदेशमा माटो ब्रान्डको अर्गानिक उत्पादन बिक्री भहिरहेको छ । हामी नेपालबाट वस्तु निर्यात गर्नेमा टप छौं । हामीले विश्व बजारमा अर्गानिक उत्पादन निर्यात गर्ने टप देशको रुपमा चिनाउने छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.