एटीएम ह्याकको रिपोर्ट आउँदै, को को होलान् दोषी ?

  २०७६ भदौ १८ गते १२:२७     विकासन्युज

काठमाडौं । चिनियाँ ह्याकरहरूले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी करोडौं रुपैयाँ चोरी गरेको घटना छानविन गर्न बनेको कमिटीले केही बेरमा राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबि नेपाललाई प्रतिवेदन बुझाउने भएको छ ।

ह्याकरहरूले विभिन्न बैंकको नक्कली भिसा कार्ड प्रयोग गरी एटीएमबाट पैसा निकालेका थिए । सत्य तथ्य सूचना पत्ता लगाउन र आगामी दिनमा सूचना प्रविधिमा बलियो बन्न गर्नु पर्ने उपायहरूको खोजी समेत प्रतिवेदनमा उल्लेख गरिएको हुनेछ । प्रतिवेदनले यस घटनासँग सम्बन्धित दोषीहरूलाई पहिचान गर्नेछ ।

राष्ट्र बैंकका भुुक्तानी सेवा प्रणालीका कार्यकारी निर्देशन बमबहादुर मिश्रको संयोजकमा ५ सदस्यीय समिति बनेको थियो । समितिले आइतबारदेखि हिजो मंगलबारसम्म यस सम्बन्धि अध्ययन गरी रिपोर्ट बुझाउन लागेको हो ।

गत शनिबार ५ जना चिनियाँ लुटेराहरुलाई पक्राउ गरी प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार मध्यरातमा दरबारमार्ग स्थित नबिल बैंकको एटिएमबाट अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो ।

शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेपछि थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेको थियो । पक्राउ परेकासँग प्रहरीले एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.