म्युचुअल फण्डकाे प्रतिफल शेयरको भन्दा बढी, दोस्रो बजारमा किन्नेलाई झन् फाइदा

  २०७६ भदौ १७ गते १७:२५     विकासन्युज

काठमाडौं । म्युचुअल फण्डहरुले यो वर्षको लागि धमाधम लाभांश घोषणा गर्न थालेका छन् । आर्थिक वर्ष २०७५/७६ को कारोबारबाट फण्डहरुले आफ्ना इकाईधनीहरुका लागि लाभांश घोषणा गर्न थालेका हुन् । हालसम्म ८ ओटा कम्पनी ७७ करोडको लाभांश घोषणा गरिसकेका छन् ।
घट्दो बजारसँगै घट्दो प्रति इकाई खुद मूल्य (एनएभी)का बाबजुद पनि म्युचुअल फण्डहरुको लाभांश दरभने उच्च देखिएको छ ।

एनएभी घटेसँगै बजार मूल्य समेत घटेर अधिकांश इकाईको मूल्य अंकित मूल्यभन्दा कम भएको अवस्थामा समेत ती फण्डहरुले दोहोरो अंकमा लाभांश वितरण गर्दा इकाईधनीहरु  लाभान्वित भएका छन् ।

हालसम्म बजारका ८ फण्डहरुले अघिल्लो वर्षको नाफाबाट लाभांश दिएका छन् जसमध्ये लक्ष्मी भ्यालु फण्ड र एनएमबी  सुलभ इन्भेष्टमेन्ट फण्डले १५/१५ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ११ प्रतिशत, एनएमबी हाइब्रिड फण्ड, एनआईशी एशिया ग्रोथ फण्ड र सानिमा इक्विटी फण्डको १०/१० प्रतिशत, सिटिजन म्युचुअल फण्डको ७ प्रतिशत र एनआईबीएल समृद्धि फण्डले ६.५ प्रतिशत लाभांश दिने घोषणा गरेका हुन् ।

साधारणसभा गर्नुपर्दैन, तत्कालै नगद

म्युचुअल फण्डहरुले घोषणा गरेको लाभांश वितरण गर्न अन्य कम्पनीहरुको जस्तो साधारणसभा गर्नुपर्दैन । लेखापरीक्षकले लेखापरीक्षण गरेको विवरणलाई नियामक नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि तत्कालै इकाईधनीहरुको खातामा नगद पठाउन सकिन्छ । यसैले गर्दा इकाईधनीहरुले छोटो समयमै लाभांश पाउनसक्ने एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरे बताउँछन् । उनले म्युचुअल फण्डहरुले दशैंलाई लक्षित गरेर लाभांश घोषणा गरेको भन्दै हालसम्म लाभांश घोषणा गरेका फण्डहरुलाई दशैंसम्म लाभांश वितरण गर्न कुनै कठिनाई नहुने समेत बताए ।

शेयरमा भन्दा बढी फाइदा

घट्दो बजारका बाबजुद पनि दोहोरो अंकको लाभांश दिएका फण्डहरुको लाभांशको स्थिति हेर्दा त्यस्ता इकाईहरुको प्रतिफल शेयरको भन्दा बढी देखिएको छ । अंकित मूल्यभन्दा बजारमूल्य कम भएको अवस्थामा दोस्रो बजारबाट इकाई किन्नेहरुको वास्तविक प्रतिफल तोकिएको प्रतिफलभन्दा धेरै हुने अवस्था देखिन्छ । हाल शेयर बजारका अधिकांश कम्पनीको मूल्य आम्दानी अनुपात समेत कम भएको अवस्थामा दोहोरो अंकमा लाभांश दिने इकाईहरुको वास्तविक लागत १० प्रतिशत भन्दा पनि बढी देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.