अब निगमको ओसाका उडान सातामा दुई दिनमात्रै

२०७६ भदौ १७ गते १५:२० विकासन्युज

काठमाडौं । यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ ।

वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो ।
निगमले अव सातामा मङगलबार र शनिबार मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन मङलबार, आइतबार र शनिबार उडान गर्ने कार्यतालिका थियो ।

ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो । त्यसयता जम्मा तीन उडान भएका छन् ।

पर्याप्त मात्रामा यात्रु नभएकाले उडान तालिका संशोधन गरी सातामा दुई दिन मात्रै ओसाका उडान गरिने निगमका सहायक प्रवक्ता सुलेख मिश्रले राससलाई जानकारी दिएका छन् ।

उनका अनुसार दसैँ, तिहार र त्यसपछिको समयमा हालको उडान सङ्ख्या बढाएर चार पुर्याइनेछ । सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको सङ्ख्या अपुग भएको भन्दै उडान स्थगन गरेको थियो । त्यसताका निगमले काठमाडौँदेखि चीनको साङ्घाई हुदैँ ओसाका उडाउने गरेको थियो ।

निगमको ध्यानाकर्षण

नेपाल वायुसेवा निगमले आफ्नो संस्था र कार्यकारी अध्यक्ष मदन खरेलसँग जोडी विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष खरेल हाल अस्वस्थ्य भएकाले चिकित्सकको सल्लाह बमोजिम उपचारको सन्दर्भमा आराम गरिरहेको स्पष्ट पारेको छ ।

चिकित्सकका अनुसार अध्यक्ष खरेललाई मौसमी भाइरल र टाइफाइडबाट सङ्क्रमित भएकाले कम्तीमा पाँच दिन आराम गर्नुपर्नेछ । कार्यकारी अध्यक्ष विश्राममा रहेको प्रशङ्गलाई अतिरञ्जित समाचारको रुपमा आएकोमा सोको खण्डन गर्दै निगमले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस